२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

पाकिस्तानी प्रधानमन्त्री आज नेपाल आउने, यस्तो छ कार्यतालिका

पाकिस्तानी प्रधानमन्त्री आज नेपाल आउने, यस्तो छ कार्यतालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिन सोमबार साँझ ३० सदस्यीय प्रतिनिधि टोलीको नेतृत्व गर्दै पाकिस्तानका प्रधानमन्त्री साहिद खाकन अब्बासी नेपाल आउँदै हुनुहुन्छ ।

परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार प्रधानमन्त्री अब्बासी ३ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नुहुनेछ । आफ्नै विमानबाट नेपाल आउन लाग्नुभएका प्रधानमन्त्री अब्बासीलाई अर्थमन्त्री डा. युवराज खतिवडाले त्रिभुवन विमानस्थलमा स्वागत गर्ने कार्यक्रम तय भएको शिष्टाचार महापाल दिपक अधिकारीले जानकारी दिनुभयो । परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार विमानस्थलबाट प्रधानमन्त्री अब्बासी सिधै टुँडीखेलको सैनिकमञ्चमा प्रस्थान गर्नुहुनेछ । त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाली सेनाको टुकडीले अब्बासीलाई ‘गार्ड अफ अनर’ प्रदान गर्ने कार्यक्रम छ ।

दुवै प्रधानमन्त्रीबीच आफ्ना प्रतिनिधिसहितको भेट होटल याक एन्ड यतिमा साँझ ६ बजे तय गरिएको छ । करिब एक घण्टासम्म दुवै प्रधानमन्त्रीबीच भेटवार्ता हुने परराष्ट्र मन्त्रालयका अधिकारीले जानकारी दिनुभयो । भेटपछि प्रधानमन्त्री ओलीले समकक्षी अब्बासीको सम्मानमा सोही होटलमा रात्रीभोजको आयोजना गर्नुहुनेछ । मङ्गलबार पाकिस्तानी प्रधानमन्त्री अब्बासीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री अब्बासीबीच १० बजे शीतलनिवासमा भेटवार्ता हुने कार्यक्रम तय भएको छ । भेटपछि प्रधानमन्त्री अब्बासी पाकिस्तान फर्कने कार्यक्रम छ ।

प्रधानमन्त्रीद्वयबीचको भेटमा रोकिएको सार्क सम्मेलनको विषयमा छलफल हुने बताइएको छ । हाल नेपाल सार्क राष्ट्रको अध्यक्ष छ भने सार्क सम्मेलन गर्ने जिम्मेवारी पाकिस्तानसँग छ । भारत र पाकिस्तानबीचको तिक्तताकाकारण सार्क बैठकबारे निर्णय हुन सकिरहेको छैन । सार्कको १९ औँ शिखर सम्मेलन पाकिस्तानमा गर्न यसअघिको बैठकले निर्णय गरेको थियो । प्रधानमन्त्री अब्बासीसँग उहाँको टोलीमा पाकिस्तानी विदेशमन्त्री, परराष्ट्र सचिव, परराष्ट्र मन्त्रालयका प्रवक्ता उपस्थिति रहने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij