२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

राष्ट्रपति निर्वाचन ८८४ मतदाता

राष्ट्रपति निर्वाचन ८८४ मतदाता


काठमाडौं । २९ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि संघ र प्रदेशका सांसदको मतभार फरक हुने भएको छ । निर्वाचनका लागि कुल ८८४ मतदाता रहेकोमा संघ र प्रदेशका सदस्यको मतभार फरक फरक हुने भएको हो । संघीय संसद्मा कायम प्रतिनिधिसभाका २७५ र राष्ट्रिय सभाका ५९ गरी कुल ३३४ सदस्यको मतभार एक सांसद बराबर ७९ र प्रदेश सभाका कुल ५ सय ५० सांसदको एक सांसद बराबर ४८ हुने भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले राष्ट्रपति निर्वाचनमा संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यको मतभार फरक हुने बताए । ‘राष्ट्रपति निर्वाचनका लागि संघीय संसद्का ३३४ सांसदको एक सदस्य बराबर ७९ र प्रदेशसभाका ५ सय ५० सदस्यको मतभार एक सदस्य बराबर ४८ हुनेछ,’ प्रवक्ता ढकालले भने ।

संघ र प्रदेशका सांसदको मतभार फरक
संघीय संसद्‌का ३३४ सदस्यको कुल मतभार २६,३८६
प्रदेशसभाका ५५० सदस्यको कुल मतभार २६,४००
कुल मत भार ५२,७८६
निर्वाचित हुन ५१ प्रतिशत अर्थात् कम्तीमा २६,३९४ मत आवश्यक

संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने व्यवस्था छ । यसअघि संसद्‌मा कायम रहेका सदस्यको बहुमत प्राप्त गर्ने उम्मेदवार नै राष्ट्रपति र उपराष्ट्रपति हुने व्यवस्था थियो ।

राष्ट्रपति निर्वाचनका लागि जननिर्वाचित प्रतिनिधिसभाका २७५ र राष्ट्रिय सभाका ५९ गरी संघीय संसद्‌का ३३४ सांसदले मतदान गर्नेछन् । यस्तै, सातवटै प्रदेशमा गरी कुल ५५० प्रदेशसभा सदस्यले समेत राष्ट्रपति निर्वाचनमा मतदान गर्नेछन् । राष्ट्रपति निर्वाचनका लागि कुल ८८४ मतदाता रहनेछन् ।

संवैधानिक व्यवस्थाअनुसार नै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् र प्रदेशसभाका सदस्यको मतभार क्रमशः ७९ र ४८ तोकिएको छ । सो कानुन गत २२ असोजमा संसद्बाट पारित भएर २७ असोजमा राष्ट्रपतिबाट प्रमाणीकरण भएको हो । मतभारअनुसार संघीय संसद्का कुल ३३४ सदस्यको कुल मतभार (प्रतिसदस्य ७९ का दरले) २६ हजार ३८६ हुनेछ ।

संसद् भवनमा निर्वाचन कार्यालय
२९ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनका लागि काठमाडौंको नयाँ बानेश्वरस्थितअन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा निर्वाचन कार्यालय स्थापना गरिएको छ ।

संघीय संसद् भवनका रूपमा समेत प्रयोग गर्न लागिएको सो स्थानमा बिहीबार निर्वाचन आयोगले निर्वाचन कार्यालय खडा गरेको हो । आयोगका प्रवक्ता नवराज ढकालले पाटन उच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठलाई निर्वाचन अधिकृत तोकिएको बताए ।

आयोगले २१ फागुनदेखि सुरु हुने गरी निर्वाचन तालिकासमेत सार्वजनिक गरेको छ । २१ फागुनमा मतदाता नामावली प्रकाशन गरिनेछ । २३ फागुनमा उम्मेदवारी मनोनयपत्र दर्ता गरिनेछ भने २९ फागुनमा मतदान गरिनेछ । राष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का ३ सय ३४ र सातवटै प्रदेशका सांसदले मतदान गर्नेछन् ।सातवटा प्रदेशमा जम्मा ५ सय ५० प्रदेश सांसद छन् । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्य पर्छन् । राष्ट्रिय सभा ५९ सदस्यीय र प्रतिनिधिसभा २ सय ७५ सदस्यीय छन् ।

राष्ट्रपतिको निर्वाचनमा कूल मतदाता ८ सय ८४ जना हुनेछन् । संघीय संसद् भवनमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने प्रवक्ता ढकालले बताए । राष्ट्रपतिको निर्वाचनमा संघीय संसद्को मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij