
काठमाडौं । काठमाडौंको पुतलीसडकस्थित सेयर मार्केट भवनमा आज (शुक्रबार) बिहान भएको आगलागी ग्यास लिकका कारण भएको खुलेको छ । सेयर मार्केट कम्प्लेक्सको पाँचौं तलामा रहेको एनआइएसी ल्यांग्वेज एण्ड एजुकेसन सेन्टरको किचेनमा ग्यास लिक हुँदा आगलागी भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा रहेका एक प्रहरी अधिकारीले भने, “प्रारम्भिक अवस्था हेर्दा किचेनमा रहेको ग्यास सिलिण्डर लिक भएको देखिन्छ ।” सञ्चालक सुरज राजभण्डारीले आगलागीबारे केही नबोलेपनि ५० लाखभन्दा बढी क्षति भएको जानकारी दिएको महानगरीय प्रहरी वृत्त सिहंदरबारका डिएसपी अपिलराज बोहराले जानकारी दिए । बोहराका अनुसार आगो झण्डै डेढ घण्टापछि नियन्त्रणमा आएको थियो ।
प्रहरीका अनुसार आगलागीबाट पाँचौ तलामा रहेको एनआईएसीको कार्यालय भवन र सामान पूर्णरुपमा क्षतिग्रस्त भएको छ । आगो नियन्त्रणका लागि महानगरपालिका र नेपाली सेनाका ४ दमकलको सहयोग लिइएको थियो । आगलागी नियन्त्रणमा आएपछि सो क्षेत्रको अवस्था सामान्य बनेको र सवारीसाधन पनि नियमीत रुटमा सञ्चालन भएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij