
बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई थप कार्यकाल पनि राष्ट्रपति बन्न बाटो खुला हुनेगरी प्रस्ताव तयार भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले संविधानमा रहेको २ कार्यकाल मात्रै राष्ट्रपति बन्न पाउने प्रावधान हटाउने प्रस्ताव तयार पारेको छ ।
यो प्रावधान परिवर्तन भएमा वर्तमान राष्ट्रपति सी जिनपिङलाई राष्ट्रपति पदमा कायम रहन बाटो खोल्नेछ । राष्ट्रपति सी जिनपिङको अहिलेकै अवस्थामा आगामी २०२३ मा कार्यकाल सकिनेछ । यद्यपि, उनले त्यसपछि पनि पदमा बहाल रहन खोजेको अनुमान गरिँदै आएको छ ।
गत सन् २०१७ को अक्टोबरमा भएको पार्टीको महाधिवेशनबाट सी जिङपिङ विचारधारा पारित भएको थियो भने यसलाई चिनियाँ संविधानमा उल्लेख गर्ने निर्णयसमेत भएको थियो । यसबाट उनी चीनमा माओत्से तुङपछिकै शक्तिशाली नेताका रूपमा स्थापित भएका छन् ।
यसैगरी, हरेक पाँच वर्षमा हुने महाधिवेशनमा चिनियाँ कम्युनिस्ट पार्टीले भावी नेताका रूपमा केही प्रभावशाली नेतालाई अघि बढाउने गरेको थियो । तर, गत अक्टोबरमा भएको महाधिवेशनमा कसैलाई पनि नेताका रूपमा अघि सारिएको छैन ।
यसलाई सीले थप समय राष्ट्रपतिका रूपमा काम गर्न चाहेको या आगामी पाँच वर्षपछि विकल्प तयार पारेर छाड्नसक्ने अनुमान गरिएको थियो । सन् १९५३ मा बेइजिङमा जन्मिएका सी जिनपिङ चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक नेता सी झोंग्सनका छोरा हुन् ।
सन् १९७४ मा पार्टीमा आबद्ध भएका सी सन् २०१३ मा राष्ट्रपति भएका हुन् । सीको नेतृत्वमा चीनले आर्थिक सुधार, भ्रष्टाचारविरोधी अभियान र मानवअधिकारको क्षेत्रमा व्यापक प्रगति गरेको विश्लेषण गरिन्छ ।
पाँच–पाँच वर्ष गरी राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल १० वर्षमा सीमित गर्ने परिपाटी सन् १९९० को दशकमा सुरु भएको हो । माओको समय र त्यसपछि देखिएको अस्तव्यस्तता नदोहोरियोस् भन्ने उद्देश्यले देङ सियाओपिङले दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नपाउने परिपाटीको सुरुवात गरेका थिए ।
सीभन्दा अघि राष्ट्रपति भएका हु जिन्ताओ र ज्याङ जेमिनले यो प्रावधानलाई अनुसरण गरे पनि सीको समयमा आएर पुनः त्यसलाई परिवर्तन गर्न खोजिएको छ । सीपीसीको केन्द्रीय समितिले राष्ट्रपति र उपराष्ट्रपतिले दुई कार्यकालभन्दा बढी राष्ट्रपति हुन नपाउने र ७० वर्षको उमेरहद हटाउने प्रस्ताव गरेपछि सी पुनः चीनको नेतृत्वमा रहने अवस्था आउन लागेको हो ।
दुई कार्यकालभन्दा बढी राष्ट्रपति हुन नपाउने प्रावधान संशोधन गर्न लागिएको बताइए पनि यसबारेमा विस्तृतमा केही उल्लेख गरिएको छ । धेरै चिनियाँ नयाँ वर्ष मनाएर सोमबार काममा फर्किन लागेका बेला महŒवपूर्ण घोषणा बाहिर आएको हो ।
यस्तै, दक्षिण कोरियाले शीतकालीन ओलम्पिक सकेर चीनलाई सन् २०२२ को ओलम्पिक आयोजनाका लागि झन्डा हस्तान्तरणसमेत गर्दै छ । यो प्रस्ताव आगामी ५ मार्चमा सुरु हुने नेसनल पिपुल्स कंग्रेसको अधिवेशनअघि संसद्मा प्रस्तुत गरिने अनुमान गरिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij