
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्तविक महत्तव बोकेका सडकमा आउँदो माघ २ गतेदेखि आकस्मिक सेवाबाहेकका अन्य चारपाङ्ग्रे वा ठूला सवारी साधनको प्रवेश निषेध गर्ने तयारी भएको छ ।
काठमाडौं महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाले महानगरका सातवटा वडाका भित्री सडकमा माघ २ देखि चारपाङ्ग्रे्रे सवारीसाधन प्रवेश निषेध गर्ने तयारी गरेका हुन् । काठमाडौँ महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाले संयुक्त रूपमा बुधबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी सोबारे जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीले देशकै महत्वपूर्ण धरोहर र पर्यटकीय नगरी जोगाउन महानगरपालिकाले सुरु गरेको यो अभियानमा सबैको साथ हुने विश्वास व्यक्त गर्नुभयो ।
महानगरपालिकाका कार्यकारी प्रमुख धनीराम शर्माले काठमाडौँको ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्तविक सम्पदाको संरक्षणका लागि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म भित्री सडकमा चारपाङ्ग्रे सवारीसाधन गुड्न रोक लगाउन लागेको जानकारी गराउनुभयो ।
काठमाडौँ महानगरपालिका १७, १८, १९, २२, २४, २५ र २७ लगायतका भित्री क्षेत्रका सहर र त्यसभित्र रहेका सम्पदा र संस्कृति संरक्षण गरी व्यवस्थित गराउनका लागि चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा निषेध गरिएको जानकारी गराइयो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका ट्राफिक प्रहरी निरीक्षक विदुरकुमार थापाले चारपाङ्ग्रे्रे सवारी साधनका कारण भित्री सडकका पैदल यात्रुहरूले कष्टपूर्वक यात्रा गर्नु परेकाले सो क्षेत्रमा चारपाङ्ग्रे्रे सवारी साधन निषेध गर्न लागिएको जानकारी गराउनुभयो । उहाँले उक्त क्षेत्रमा आकास्मिक सेवाका सवारी साधन र मोटरसाइकललाई गुड्न रोक नलगाइएको प्रस्टसमेत पार्नुभयो ।
आउँदो माघ २ देखि निषेधित क्षेत्रमा चारपाङ्ग्रे्रे सवारी साधन गुडाइएमा कानुनबमोजिम कारबाही गरिने थापाले जानकारी गराउनुभयो ।
भोटाहिटीबाट असन चोकसम्म चारपाङ्ग्रे्रे सवारी साधनलाई एकतर्फी निधेषित क्षेत्र बनाइएको छ । ठहिटीबाट नघल, वाङ्गेमुढा, भेडासिङ, इन्द्रचोक तथा टेङ्गलबाट बाङ्गेमुढा हुँदै भेडासिङ, इन्द्रचोकसम्म र ठहिटी हँदै नघःल बाङ्गेमुढा भेडासिङ हुँदै इन्द्रचोकसम्म निषेध गरिएको छ ।
साथै इन्द्रचोकबाट असन, इन्द्रचोकबाट भेडासिङ, ज्याठाबाट त्यौड, ठहिटीबाट असन, कमलाक्षीबाट असन, महाबौद्धबाट असन, इन्द्रचोकबाट वटुसम्म चारपाङ्ग्रे सवारी साधनलाई पूर्ण रूपमा निषेध गरिएको छ ।
यसका लागि महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाले संयुक्त रूपमा बुधबारबाटै अभियान सञ्चालन गरेको पनि जानकारी गराइयो । निषेधित क्षेत्रमा विशेष खालको सङ्केत राखेर व्यापक रूपमा प्रचार गरिनेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij