
एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले साँघुरो जित निकालेको छ । बुधबार राति भएको खेलमा सिटीले न्युकासल युनाइटेडलाई १ – ० ले पराजित गरेको हो ।
न्युकासलको घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन एक मात्र गोल रहिम स्ट्रलिङले गरेका थिए । पहिलो हाफको ३१ औं मिनेटमा स्ट्रलिङले गोल गर्दै सिटीलाई ३ अंक दिलाएका थिए । घरेलु टोलीमाथि सुरुवातबाटै हाबी भएपनि सिटीले त्यसपछि थप गोल गर्न सकेन । सिटीले खेल अवधिभर ६ पटक पोष्ट आक्रमण गरेको थियो ।
यस्तै घरेलु टोलि न्युकासलले सिटीको पोष्टमा दुई पटक आक्रमण गरेको थियो । तर, पाएको अवसरमा गोल गर्न नसक्दा न्युकासल घरेलु मैदानमा पराजित भयो । योसँगै न्युकासलले सन् १९५३ को अक्टोबरपछि पहिलो पटक घरेलु मैदानमा लगातार पाँच खेल गुमाउनु परेको छ ।
यो जितसंगै सिटीले प्रिमियर लिगको उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । लिगमा २० खेल सकिदा सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडमाथि १५ अंकको अग्रता कायम गरेको छ । जितपछि सिटीको ५८ अंक भएको छ । दोस्रो स्थानमा रहेको युनाइटेडको ४३ अंक छ । पराजित न्युकासलको १८ अंक जोडेर लिगको १५ औं स्थानमा छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij