
काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कैलालीबाट निर्वाचित भएका रेशम चौधरीले वारेशमार्फत् विजयी प्रमाणपत्र नपाउने भएका छन् । चौधरीले आफू विजयी भएको प्रमाणपत्र वारेशमार्फत् पाऊँ भन्दै सर्वोच्च अदालतमा रिट हालेका थिए ।
रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले चौधरीले वारेशबाट प्रमाणपत्र लिन नपाउने आदेश जारी गरेको हो । निवेदकका तर्फबाट अधिवक्ता दिपेन्द्र झा र सुनिलकुमार पटेलले बहस गरेका थिए ।
सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दाका अभियोग लागेका निवेदकलाई उक्त मुद्दाको कानुनी प्रक्रियाबाट बाहिर रहेका कारण वारेसद्वारा दायर गर्न ल्याएको रिट निवेदन दर्ता नगरी फिर्ता गर्ने गरी सर्वोच्चका मुख्य रजिष्ट्रारको आदेश काननसम्मत रहेको देखिएकोले निवेदकको मागअनुसारको आदेश बदर गरिरहन परेन भन्दै कानुन बमोजिम गर्नू भनी आदेश जारी गरेको छ ।
कैलालीको टीकापुरमा थरुहट कार्यकर्ता र प्रहरीबीच भएको झडपमा एसएसपीसहित ७ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको घटनाका अभियोग लागेका रेशम चौधरीले वारेसमार्फत निर्वाचनमा विजयी भएको प्रमाणपत्र अब पाउनेछैनन् ।
आदेशमा आफूविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर भएको जानकारी राख्ने निवेदक चौधरीले अदालतबाट जारी भएको वारेण्ट तथा म्यादी पुर्जी समेतको अवज्ञा गरेको उल्लेख छ ।
निवेदक चौधरीले गएको मंसिर २९ गते वारेसमार्फत वेरितको आदेश बदर गरी पाउँ भन्ने रिट निवेदन दर्ता गर्न ल्याएका थिए । तर, सर्वोच्चका मुख्य रजिष्टार नहकुल सुवेदीले रिट दर्ता गर्न नमिल्ने भनेर फर्काइदिएका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij