२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

कासमू कीर्ते काण्डमा अनुसन्धान सुरु

कासमू कीर्ते काण्डमा अनुसन्धान सुरु

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी एवम् नेकपा एमालेका नवनिर्वाचित सांसद नवराज सिलवालसमेत जोडिएको कार्यसम्पादन मूल्यांकन कीर्ते काण्डमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

कासमू कीर्ते कसरी भयो भन्नेबारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

सर्वोच्च अदालतको आदेशबमोजिम फाइल अघि बढाइएको प्रहरी स्रोतले जानकारी दिएको छ । सर्वोच्च अदालतले कासमू कीर्ते भएको ठहर गर्दै अनुसन्धान प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो ।

सोहीअनुसार अनुसन्धान प्रक्रिया अघि बढाइएको बताउँदै प्रहरी स्रोतले भन्यो, “आवश्यकता अनुसार आरोपी पूर्वडीआईजी नवराज सिलवाललाई पनि झिकाइनेछ । उनले पनि यसबारेमा प्रष्ट पार्नुपर्ने हुन्छ ।”

प्रहरीले यसअघि अदालतमा पेस भएको सक्कली तथा नक्कली कासमूको फारम कहाँबाट चुहावट भयो, अनि कसरी कीर्ते भयो भन्नेबारेमा अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।
अदालतको आदेशबमोजिम पुस ५ गते प्रहरीले जाहेरी दर्ता गरेको थियो ।

आफूलाई प्रहरी महानिरीक्षक बनाउनुपर्ने दाबीसहित सिलवालले सर्वोच्च अदालतमा दायर गरेको रिट खारेजीसँगै प्रहरी प्रधान कार्यालयले सिलवाललाई कानुनबमोजिम गोप्य रहनुपर्ने कार्यसम्पादन मूल्यांकन फाइल कीर्ते गरेको अभियोगमा अनुसन्धान गर्ने निर्णय गरेको थियो ।

स्रोतका अनुसार काठमाडौं प्रहरीले अनुसन्धानको लागि गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, लोकसेवा आयोगलगायत सम्बन्धित निकायमा अनुसन्धानको लागि आवश्यक कागजपत्र उपलब्ध गराउन माग गर्दै पत्र पठाइसकेको छ । अनुसन्धानमा संलग्न एक अधिकारीले भने, “अनुसन्धानका लागि आवश्यक कागजपत्र उपलब्ध गराउन सम्बन्धित निकायलाई पत्रचार गरेका छौं । कागजपत्र हातमा परेपछि थप केही कुरा बाहिर आउन सक्छ । सिलवालले अदालतमा पेस गरेका कागजातको पनि थप अनुसन्धान हुन्छ ।”

अदालतको फैसलामा ‘अनुचित माध्यमबाट कार्यसम्पादन मूल्यांकनको अंक तोडमोड गरी आफूले बढी अंक प्राप्त गरेको भनी इजलासलाई भ्रम पार्ने प्रयास गरेको देखिएको’ उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij