
सोल । दक्षिण कोरियाको मुख्य सहर मध्येमा पर्ने जोसेन सहरमा रहेको एउटा भवनमा अगालागी हुँदा कम्तीमा २९ जनाको मृत्यु भएको छ ।
राजधानी सोलदेखि झण्डै १७० किलोमिटर दक्षिणपूर्वमा पर्ने ठाँउमा रहेको आठ तले भवनमा आगलागी भएको हो । आगलागी भएको भवनमा व्यायाम केन्द्र, सार्वजनिक स्नान कक्ष र रेष्टुरेन्ट सञ्चालनमा रहेको अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरूले लेखेका छन् ।
मृत्यु भएकामध्ये सवै जना भवनको दोस्रो तलामा रहेकोे अधिकारीहरुले बताएका छन् । उनीहरु सवै जना घटनास्थलमै मृत अवस्थामा फेला परेका थिए ।
आगलागीमा परि अरु २६ जना घाइते भएका र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । धुवाले निसास्सिएकै अवस्थामा उनीहरुलाई अस्पताल पुर्याइएको हो ।
घाइतेहरुको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न अस्पतालका चिकित्सकहरुले जानकारी दिएका छन् ।स्थानीय समय अनुसार दिउँसो ४ बजे तिर आगलागी सुरु भएको थियो । आगलागी भए लगत्तै ५० ओटा अग्नि नियन्त्रक यन्त्र, ६० जना अग्नि नियन्त्रक र हेलिकप्टर आगलागी नियन्त्रण गर्न र पिडितहरुलाई उद्धार गर्न खटाइएको थियो ।
उनीहरुले बेलुका ५ बजेर ४० मिनेट जाँदा मात्रै आगो नियन्त्रणमा लिन सकेका थिए । अहिले पनि उद्धारकर्ताहरुले जलेको भवन भित्र अरु पनि कोही जलेको वा जीवितै हुन सक्ने आशंका सहित खोजी गरिरहेका छन् ।
उद्धारकर्ताहरुले भवन भित्र जीवितै रहेको भेट्ने संभावना निकै कम रहेको र थप मृतकहरु भने भेटीन सक्ने अनुमान गरेका छन् । रासस
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij