काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाभियोग लगाउन माग गर्दै सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाएका छन् । आफू अनुकुलका अभियोगीलाई उन्मुक्ति दिने र मन नपरेकाहरुसँग बदला लिन अख्तियारको मर्यादा उल्लंघन गर्ने काममा कार्की सक्रिय रहेको भन्दै कारवाहीको माग गरिएको हो ।
मंगलवार एमाले केन्द्रीय कार्यालयमा पुगेको प्रतिनिधिमण्डलले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठमार्फत एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका थिए । कार्कीले संवैधानिक अंगको गरिमा र मर्यादालाई लत्याएको दाबी गर्दै विधिको शासनको सम्मान गर्न आग्रह गरिएको छ । ओलीलाई बुझाइएको दुई पेज लामो ज्ञापनपत्रमा कार्कीले आफ्नो नियुक्ति प्रक्रियामा असहमति राख्ने राजनीतिक दलका नेता र समाजका प्रतिष्ठित ब्यक्तिहरुलाई बदनाम गराउने काम गरेको पूर्वाञ्चल र पोखरा विश्वविद्यालयका पदाधिकारीहरुलाई छानविन गर्ने नाममा न्यादती गरेको आरोप लगाइएको छ ।
यस्तै संसदको सार्वजनिक लेखा समितिले ५८ करोड रुपैयाँ भ्रष्टाचारमा दायर गरेको मुद्दालाई तामेलीमा राखी गणेश थापालाई कार्कीले उन्मुक्ति दिएको, पर्यटन बोर्डका तत्कालीन कार्यकारी अधिकृत सुवास निरौलालाको छानविन प्रक्रिया सामुसुम पारिनुजस्ता प्रतिनिधिमुलक घटनाले कार्कीको बदनियत स्पष्ट पारेको ज्ञापनपत्रमा दाबी गरिएको छ ।
‘सार्बभौम व्यबस्थापिका संसदको सार्वजनीक लेखा समितिले अखिल नेपाल फुटबल संघमा करिब ५८ करोड भ्रष्टाचार भएको मुद्धालाई तामेलीमा राखी त्यसका एक मात्र आरोपी गणेश थापालाई उन्मक्ती दिनु, पर्यटन बोर्डका तत्कालीन कामु कार्यकारी अधिकृत सुवास निरौलाको छानबिन कार्य सामसुम पारिनु जस्ता केही प्रतिनीधिमुलक घटनाहरुले प्रमुख कार्कीका कारण सिङ्गै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छबिमा गम्भीर अबिश्वसनियता उत्पन्न भएको छ’ ज्ञापनपत्रमा उल्लेख छ, ‘यति धेरै घटनाहरुमा अख्तियार र प्रमुख आयुक्त कार्कीको बदनियत प्रमाणित हँुदा हुँदै यति ठुलो परिवर्तनका हिस्सेदार राजनीतिक दल, नेता, नागरिक समाज आदी चुप लागेकोमा हामी आश्चर्यका साथै दुख प्रकट गर्दछौ ।’
यस्तै कार्कीलाई कानुन सम्मत रुपमा बखाृस्त गर्न तत्काल संसदमा महाभियोग प्रस्ताव ल्याउन माग गरिएको छ । ‘यदी लोकमानसिंह कार्कीलाई कानुन सम्मत ढंगले समयमै बर्खास्त गर्न ढिलाई गरिए देशमा थप अस्थिरता उत्पन्न हुने निश्चित छ’ विज्ञप्तिमा उल्ल्ेख छ, ‘तसर्थ लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखबाट बर्खास्त गर्न महाअभियोगको प्रस्ताब तत्काल संसदमा दर्ता गरी आम नेपाली जनता र बिषेश गरी सचेत युवाहरुको मनोभावनाको कदर गर्न आग्रह गर्दछौँ ।’
संसदमा प्रतिनिधित्व गर्ने सबै पार्टीहरुलाई कार्कीलाई बर्खास्त गर्न माग गर्दै ज्ञापनपत्र बुझाउने र बर्खास्त नगरेसम्म अभियान चलाइने अभियानका संयोजक डा जितेन्द्र उपाध्यायले वताउनुभयो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij