पोखरा । कांग्रेस सभापति शेरबहादुर देउवाले वाम गठबन्धन लोकतन्त्र सिध्याउने षड्यन्त्रस्वरुप भएको बताएका छन् । अहिलेको संविधान सबै नेपालीलाई समेट्ने समावेशी रहेको तर वाम गठबन्धनले यसलाई खारेज गरी राष्ट्रपतीय शासन प्रणालीको नाममा एकदलीय तानाशाही शासन ल्याउन खोजेको उनको आरोप थियो ।

अहिलेको चुनाव कम्युनिष्ट की लोकतान्त्रिक शासन ल्याउने भन्ने बीचको लडाई रहेको उनको भनाई थियो । ‘कांग्रेसको नेतृत्वमा राणा, पंचायत र राजतन्त्रको अन्त्य भएको हो,’ बुधबार पोखरामा आयोजित कांग्रेसको चुनावी सभालाई संवोधन गर्दै उनले भने, ‘लोकतन्त्रको थप सुदृढिकरणकालागि कांग्रेसले जित्नु आवस्यक छ ।’
कम्युनिष्टले जितेमा नेपालमा विदेशी लगानी नआउने र स्वदेशी लगानीकर्ता पनि पलायन हुनुपर्ने अवस्था रहेको भन्दै प्रधानमन्त्रीसमेत रहेका देउवाले उद्योगधन्दा र रोजगारीविना कम्युनिष्टले भन्ने गरेको समृद्धि असंभव हुने बताए । उनले विदेशीले कांग्रेसलाईमात्र पत्याउने दाबी गरे ।
कम्युनिष्टले जितेमा बोल्न, लेख्न र अन्याय भयो भन्ने अवस्था नरहेन र व्यक्तिगत सम्पत्तिको स्वतन्त्रता पनि नहुने उनको भनाई थियो ।
सभामा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले–माओवादी गठबन्धन मुलुकलाई स्थिरता र समृद्धि तथा स्थायित्व हुन नदिने प्रपञ्च रहेको बताए । नेपालका कम्युनिष्टले समस्यामात्र जन्माउने तर कहिल्यै समाधान नदिने उनको भनाई थियो ।
‘देश शान्ति र संहालिईरहेको अवस्थामा बेला वाम गठबन्धन गरेर कम्युनिष्ट शासन ल्याउने गरी फेरी समस्या पार्न थालिएको छ,’ उनले भने, ‘दुनियाँबाट बढारिएको साम्यवाद नेपालमा ल्याउने के नेपाल कन्टेनर हो र ?’ उनले गठबन्धन राष्ट्र, जनता र लोकतन्त्रको हीतमा नरहेको बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij