२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

‘मतपेटिका १२ दिनसम्म विश्वसनीय ढंगले सुरक्षित राख्नुपर्ने’

‘मतपेटिका १२ दिनसम्म विश्वसनीय ढंगले सुरक्षित राख्नुपर्ने’

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले १० र २१ मंसिरको निर्वाचनमा जसरी पनि जित्नुपर्छ भन्ने उम्मेदवारहरूको सोचलाई निरत्साहित गर्न निर्वाचन आचारसंहितको पालनामा जोड दिनुपर्ने बताएका छन् ।

उनले मंसिरमा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कतिपय उम्मेदवारहरूमा जसरी भए पनि जित्नुपर्छ भन्ने सोच राख्नु गलत रहेको बताए ।

निर्वाचन सफल बनाउन बिहीबार राजधानीमा आयोजित छलफल कार्यक्रममा प्रमुख आयुक्त यादवले भने, ‘निर्वाचन जसरी पनि जित्नुपर्छ भन्ने सोचलाई निरुत्साहन गर्नु र निर्वाचन आचारसंहिता पालनामा जोड दिनु आवश्यक छ ।’

निर्वाचनको तयारीबारे मुख्य सचिव र सचिवहरूलाई जानकारी गराउँदै यादवले दुवै चरणको निर्वाचन सम्पन्न भइसकेपछि मात्रै मतगणना सुरु हुने भएकाले पहिलो चरणको मतपेटिका १२ दिनसम्म विश्वसनीय ढंगले सुरक्षित राख्नुपर्ने बताए ।

पहिलो चरणमा १० मंसिरमा निर्वाचन हुनेछ भने दोस्रो चरणमा २१ मंसिरमा निर्वाचन हुनेछ । त्यसैगरी, यादवले प्रभावकारी मतदाता शिक्षा, निर्वाचन सामग्री तथा मतदान केन्द्रको व्यवस्थापन कार्य चुनौतीपूर्ण रहेकाले यस कार्यमा सबै पक्षबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा मुख्य सचिव लोकदर्शन रेग्मीले मुलुकको प्राथमिकताको सूचीमा रहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई सफल तुल्याउन आवश्यक शान्तिसुरक्षा, स्रोतसाधन र जनशक्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए ।

‘निर्वाचन हामी सबैको साझा लक्ष्य हो । निर्वाचनलाई सफल तुल्याउन हामी सतर्क र दत्तचित्त छौं । आयोगसँग एकाकार भएर काम गर्नेछौ,’ रेग्मीले भने, ‘निर्वाचनमा खटिएका राष्ट्रसेवकबाट भइरहेको कार्य सम्पादनको अनुगमन भइरहेको छ ।’

निर्वाचन आयुक्त सुधीरकुमार शाहले आगामी मंसिरमा हुने निर्वाचनलाई सफल तुल्याउन नेपाल सरकारका तर्फबाट आवश्यक सहयोग प्राप्त भइरहेको र सरकारबाट यस्ता किसिमका सहयोग, सद्भाव र प्रतिबद्धता निरन्तर प्राप्त भइरहने विश्वास व्यक्त गरे । उनले निर्वाचन आचारसंहिता नैतिकता तथा सदाचारसँग समेत जोडिएकाले लोकतन्त्रको सुदृढीकरणका लागि आचारसंहिता पालना अत्यावश्यक रहेको बताए ।

कार्यक्रममा निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले आगामी निर्वाचनलाई ध्यानमा राखेर सवारीसाधन, टेलिफोन, विद्युत्, एम्बुलेन्स, हेलिकोप्टर चालू अवस्थामा राखी त्यस्ता साधनको सहज एवं सुव्यवस्थित प्रयोग गर्न तथा आममतदाता, कर्मचारी र उम्मेदवारलाई सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक रहेको बताए । कार्यक्रममा आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले समग्र निर्वाचन प्रक्रिया र निर्वाचनका लागि भइरहेको तयारीका विविध पक्षबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij