२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

प्रेरणाको जग्गा फेरि ट्रस्टम

प्रेरणाको जग्गा फेरि ट्रस्टम

काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहको नाममा रहेको जग्गा उनकै हुने पूर्वफैसला उल्टाउँदै सो सम्पत्ति नेपाल ट्रस्टको नाममा दर्ता गर्न आदेश दिएको छ ।यसअघि अदालतले सिंहलाई उनका बुबा तत्कालीन राजा ज्ञानेन्द्र शाहले दाइजो बकस दिएको घरजग्गा सिंहकै हुने फैसला गरेको थियो ।

फैसलाविरुद्ध नेपाल ट्रस्टले दर्ता गरेको पुनरावलोकनको अन्तिम सुनुवाइपछि पुनः सिंहको नाममा रहेको सम्पत्ति ट्रस्टमै रहने निष्कर्षमा सर्वोच्च अदालतको पूर्ण इजलास पुगेको हो । पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साह र न्यायाधीश चोलेन्द्रशमशेर जबराको संयुक्त इजलासले गरेको फैसला उल्टाउँदै बिहीबार प्रधानन्यायाधीश सुशीला कार्कीसहित दीपककुमार कार्की र सपना मल्ल प्रधानको इजलासले फैसला उल्टाउँदै ट्रस्टको नाममा कायम गराउन आदेश दिएको हो ।

अदालतको यस आदेशसँगै अब सिंहले बुबा ज्ञानेन्द्रबाट दाइजो पाएको भनिएको जग्गा नेपाल ट्रस्टको नाममा अन्तिम स्रेस्ता कायम हुने भएको छ ।सर्वोच्च अदालतले यसअघि सिंहले दाइजो पाएको भनिएको जग्गा नेपाल ट्रस्टमा कायम गर्ने निर्णय बदर गर्दै उनैलाई फिर्ता गर्नुपर्ने फैसला गरेको थियो । काठमाडौं छाउनीस्थित कित्ता नं. २५ को घरसहितको १५ रोपनी तीन आना जग्गा नेपाल ट्रस्टमा कायम हुने निर्णयपछि सिंहले बुबाले दाइजो दिएको भन्दै दाइजोको सम्पत्ति आफैंले भोगचलन गर्न पाउनुपर्ने दाबीसहित सर्वोच्चमा मुद्दा दायर गरेकी थिइन् । अदालतले उनको दाबी सही ठहर गर्दै  सिंहकै नाममा दर्ता हुने ठहर गरेको थियो ।

तत्कालीन इजलासले ज्ञानेन्द्रले १० जेठ, २०६२ मा सो सम्पत्ति छोरी सिंहलाई दाइजोस्वरूप बकस दिएपछि भोगचलनमा रहेका सम्बन्धित व्यक्तिसँग बुझ्दै नबुझी र प्रतिवादको मौकासमेत नदिई ट्रस्टमा दर्ता गरेको तर्क गर्दै फिर्ताको आदेश दिएको थियो ।

सिंहको नाममा रहेको सो जग्गा सरकारले  १ पुस, २०६४ मा  ट्रस्ट मातहत ल्याउने निर्णय गरेको थियो । दाइजोमाथि कसैले प्रश्न उठाउन नसक्ने दाबीसहित प्रेरणाले सर्वोच्चमा रिट दायर गरेपछि अदालतले त्यसबेला यस्तो तर्क गरेको थियो ।

तर, हाल कुन तर्कका आधारमा पूर्वनिर्णय उल्टियो भन्ने विषयमा भने सर्वोच्च अदालतको पूर्ण इजलासले विस्तृत फैसला तयार नपारेका कारण खुल्न नसकेको सर्वोच्च अदालतका सहायक प्रवक्ता विश्वराज पौडेलले बताए ।

प्रेरणा ज्ञानेन्द्रकी एक मात्र छोरी हुन् । उनले एकलौटी हक भोग हुने गरी दाइजो दिएको व्यहोरा उल्लेख गर्दै तत्कालीन श्री ५ महाराजधिराजका प्रमुख राजदरबार पदाधिकारीले १० जेठ २०६२ मा  राजकीय सम्पत्ति कोष विभाग, राजदरबार तथा ढुकुटी विभाग (राजदरबार)लाई लेखेको पत्रका आधारमा सिंह अदालत पुगेकी थिइन् । विवाह हुँदा बाबुले घरसहित काठमाडौं छाउनीको १५ रोपनी एक आना जग्गा दाइजो बक्स दिए पनि सरकारले जबर्जस्ती ट्रस्टमा राखेको उनको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij