
काठमाडौं । आर्थिक घोटालासम्बन्धी नयाँ खुलासामा बेलायतकी महारानी एलिजावेथ द्वितीयाको सम्पत्तिसमेत कर छलेर लगानी गरिएको खुलासा भएको छ । बीबीसीको अनलाइन संस्करणमा जनाइएअनुसार महारानी एलिजावेथको एक करोड पाउन्ड कर छलेर लगानी गरिएको पाइएको छ ।
’प्याराडाइज पेपर्स’ नाम दिइएको यस पटकको खुलासामा एउटा कम्पनीबाट प्राप्त १ करोड ३४ लाख कागजपत्रको अध्ययनबाट आर्थिक अपराधको रहस्योद्घाटन भएको छ ।
अमेरिकी वाणिज्य मन्त्री विल्बर रोसले समेत कर छलेर प्रतिबन्ध लगाइएको रुसी कम्पनीमा लगानी गरेको पनि खुलासा भएको छ । यसैगरी फेसबुक र ट्विटरमा रुसी सरकारले युरी मिल्नर नामक अर्बपतिमार्फत् लगानी गरेको पनि खुलासा प्याराडाइज पेपरमा भएको क्वार्जमा उल्लेख गरिएको छ ।
इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिस्टस (आईसीआईजे) अन्तर्गत विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरू संसारको आर्थिक अपराध र घोटालाको खुलासा गर्न लागि परेका छन् । यही क्रममा केही पहिल पनामा पेपर्स नामको खुलासा भएको थियो । पनामा पेपर्समा नाम परेका पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफलाई त्यहाँको अदालतले अयोग्य ठहर गरेपछि उनले पद त्याग गर्नुपरेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij