२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

निर्वाचनले अर्थतन्त्रमा पार्ने प्रभाव

निर्वाचनले अर्थतन्त्रमा पार्ने प्रभाव

नेपालको संविधानको व्यवस्थाअनुसार यस वर्ष संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा रहने सरकारका तीनवटै तहमा जनप्रतिनिधिको छनोटका लागि निर्वाचनको सिलसिला चलिरहेको छ । गत ३१ वैशाख, १४ असार र २ असोजमा तीन चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न भई जनप्रतिनिधिको बहाली भइसकेको छ । यसैगरी आगामी १० र २१ मंसिरमा गरी दुई चरणका लागि तय भएको प्रदेशसभा र संघीय व्यवस्थापिकाको निर्वाचन सम्मुखमा आइसकेको छ । यसरी हेर्दा, चालू आर्थिक वर्ष नेपालका लागि निर्वाचन वर्षका रूपमा देखापरेको छ । नेपालमा संघीय शासन व्यवस्थाको कार्यान्वयनका लागि सम्पन्न भइसकेका र आसन्न निर्वाचनको महŒव अत्यधिक रहेको छ । यसै मेसोमा देशमा यसखालको निर्वाचनको सिलसिला चलिरहँदा यसले मुलुकी अर्थतन्त्रमा पार्न सक्ने प्रभावको विषयमा चर्चा गर्नु सान्दर्भिक हुन आउँछ ।

नेपालमा प्रजातन्त्रको पुनःस्थापनापछिका करिब अढाई दशकमा थुप्रै निर्वाचनहरू सम्पन्न भइसकेका छन् । विगतमा सम्पन्न भइसकेका निर्वाचनले देशको अर्थतन्त्रलाई पारेको प्रभावका आधारमा वर्तमानमा सम्पन्न भएका र सम्पन्न हुन बाँकी निर्वाचनले मुलुकी अर्थतन्त्रमा छाड्न सक्ने प्रभावको आँकलन गर्न सकिन्छ । यद्यपि, नेपालको अर्थतन्त्र केही भद्दा स्वरूपको भएकोले अर्थतन्त्रमा निर्वाचनको वास्तविक प्रभावलाई अलग गरेर हेर्न र विश्लेषण गर्न निकै कठिन रहेको छ । तथापि, विभिन्न समयमा भएका निर्वाचनबाट अर्थतन्त्रमा परेको प्रभावलाई निर्वाचन सम्पन्न भएका आर्थिक वर्षको आर्थिक वृद्धिदरको अवस्था, आयातको अवस्था, मूल्य वृद्धिदरलगायतका सूचकबाट हेर्न सकिन्छ ।

प्रजातन्त्रको पुनःस्थापनापछि नेपालमा २०४८ मा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन सम्पन्न भएको उक्त आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ३ प्रतिशत रहेको देखिन्छ । तत्पश्चात् २०५१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछिको आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ७ दशमलव ६ प्रतिशत पुगेको तथ्यांक छ, जुन गत आर्थिक वर्षमा भएको ७ दशमलव ५ प्रतिशतको वृद्धिदरभन्दा पनि उच्च हो । यसैगरी, २०५४ मा सम्पन्न स्थानीय निकायको निर्वाचन र २०५६ मा भएको संसदीय निर्वाचनपछिका दुवै आर्थिक वर्षमा ६ दशमलव १ प्रतिशतको समान आर्थिक वृद्धिदर कायम भएको देखिन्छ । २०६४ को पहिलो संविधानसभा निर्वाचन सम्पन्न भएको आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ८ प्रतिशत रहेको थियो भने २०७० मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचन पश्चात्को आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ७ प्रतिशत रहेको देखिन्छ । यसवर्ष, स्थानीय तहको पहिलो चरणको निर्वाचन वैशाखमा र दोस्रो चरणको निर्वाचन असारमा सम्पन्न भएको र आर्थिक वर्ष २०७३÷७४ मा नेपालको आर्थिक वृद्धिदर ७ दशमलव ५ प्रतिशत पुगेकोे तथ्यांक छ । यसरी तथ्यांकका आधारमा नेपालमा निर्वाचन सम्पन्न भएका वर्षको अवस्था हेर्दा निर्वाचनअघि र निर्वाचनपछिका वर्षमा भन्दा निर्वाचन भएका आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर उच्च रहेको देखिन्छ ।

नेपालको सन्दर्भमा अर्थतन्त्र कृषिमा आधारित रहेकोले आर्थिक वृद्धिदर उच्च र न्यून रहने मुख्य आधारका रूपमा कृषि क्षेत्रको वृद्धिदर रहेको देखिन्छ । आर्थिक वृद्धिदर उच्च रहेका वर्षमा कृषि क्षेत्रको वृद्धिदर पनि उच्च रहेको देखिन्छ । निर्वाचनले कृषि क्षेत्रमा पार्ने प्रभाव परोक्ष रूपमा मात्रै रहन्छ । गत आर्थिक वर्षमा हासिल भएको आर्थिक वृद्धिदरमा पनि अनुकूल मौसमी वर्षा, ऊर्जा आपूर्तिमा भएको सुधार र आपूर्ति व्यवस्थामा भएको सामान्यीकरण तथा गत वर्षको न्यून आधारबाट आर्थिक वृद्धिदर उच्च रहन गएको नेपाल राष्ट्र बैंकले प्रस्ट पारेको छ । तर यस किसिमको वृद्धिदर कायम गर्नमा गत आर्थिक वर्षको अन्तिम अवधिमा सम्पन्न भएको पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनको योगदान पनि केही हदसम्म रहेको सहज आँकलन गर्न सकिन्छ । अर्कोतर्फ, कृषि क्षेत्रपछि सेवा क्षेत्र नेपालको कुल गार्हस्थ्य उत्पादनमा योगदान दिने ठूलो क्षेत्रका रूपमा रहेको छ । निर्वाचनले सेवा क्षेत्रमा पार्ने प्रभाव प्रत्यक्ष रूपमा रहेको हुन्छ । पहिलो र दोस्रो संविधानसभा निर्वाचनपछिको आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान क्रमशः ७ दशमलव ३ प्रतिशत र ६ दशमलव १ प्रतिशतले वृद्धि भएको देखिन्छ भने गत आर्थिक वर्षमा सेवा क्षेत्रको योगदान करिब ७ प्रतिशतले वृद्धि भएको तथ्यांक छ । यसरी, निर्वाचन सम्पन्न भएका वर्षहरूमा नेपालको आर्थिक वृद्धिदर उच्च रहनुमा निर्वाचनको प्रभावलाई पनि नकार्न सकिने ठाउँ छैन ।

चालू आर्थिक वर्षको साढे चार महिनामा यस वर्ष विनियोजित पु“जीगत बजेटको ५ प्रतिशत मात्र खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले पनि पुष्टि गरिरहेको छ । अर्कोतर्फ, संघीय व्यवस्थापिका र प्रदेशसभाका आसन्न निर्वाचनहरू सम्पन्न भइसक्दासम्म चालू आर्थिक वर्षको आधा समय व्यतित हुने अवस्था रहिर“दा यस वर्ष सरकारी खर्च र विकास निर्माणका कामको गतिमा नकारात्मक असर देखापर्ने खतरा पनि कायमै रहेको छ

अर्कोतर्फ, निर्वाचन भएका आर्थिक वर्षमा आयात र मूल्य वृद्धिदर दुवै बढेको देखिन्छ । पहिलो संविधानसभा निर्वाचन भएको आर्थिक वर्ष २०६४÷६५ मा त्यसअघिको आर्थिक वर्षमा ६ दशमलव ५ प्रतिशतमा सीमित रहेको मूल्य वृद्धिदर उक्लिएर ६ दशमलव ७ प्रतिशत पुगेको तथ्यांक छ । दोस्रो संविधानसभा निर्वाचनपछि पनि मूल्यवृद्धि दरमा बढोत्तरी भई ९ दशमलव १ प्रतिशत पुगेको देखिन्छ । यसैगरी, पहिलो संविधानसभाको निर्वाचनअघिको आर्थिक वर्षमा १० प्रतिशतले बढेको आयात निर्वाचनको वर्ष १४ प्रतिशतले वृद्धि भएको देखिन्छ । दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भएको आर्थिक वर्षमा आयातको अवस्था २० प्रतिशतबाट बढेर २७ प्रतिशत पुगेको तथ्यांक छ । गत आर्थिक वर्षमा पनि त्यसअघिको वर्षमा शून्य दशमलव १ प्रतिशतले घटेको वस्तु आयातमा २८ प्रतिशतले बढोत्तरी भएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । यद्यपि, निर्वाचनका क्रममा बढ्ने नगद प्रवाहले आयातमा वृद्धि गर्ने भए पनि आयातमा आधारित नेपाली अर्थतन्त्रमा आयात वृद्धिको मूल कारण निर्वाचन मात्रै हो भन्ने निष्कर्षमा पुग्न भने सकिन्न ।

नेपालको वर्तमान सन्दर्भलाई हेर्ने हो भने स्थानीय तहको निर्वाचनको सेरोफेरोमा अर्थतन्त्रका विभिन्न पक्षहरूमा सकारात्मक असर देखिएको थियो । निर्वाचन अघिसम्म बैंक तथा वित्तीय संस्थाहरूले तरलता अभाव झेलिरहेका थिए । तर चरणबद्ध निर्वाचनका कारण सरकारी खर्चमा बढोत्तरी भएसँगै तरलता संकट र कर्जा संकटको अवस्थामा सुधार भइसकेको स्थिति छ । निर्वाचनमा दल तथा उम्मेदवारहरूले गरेको खर्च एवं व्यापक रूपमा भएको सरकारी खर्चकै कारण अर्थतन्त्र चलायमान बन्न पुग्दा यसले बैंक तथा वित्तीय संस्थाहरूको तरलता अनुपातमा सन्तुलन कायम गर्न सहयोग पु¥याइरहेको छ । यसैगरी, निर्वाचनका क्रममा सरकारले लिने म्यादी प्रहरीलगायत छोटो समयको रोजगारीका कारण अल्पकालमा नै भए पनि देशको रोजगार बजारमा सकारात्मक असर देखिएको छ । पछिल्ला निर्वाचनमा राजनीतिक दलहरूले समेत चुनाव अवधिका लागि पूर्णकालीन कर्मचारीहरू परिचालन गर्न थालेको स्थितिले पनि आंशिक रोजगारीमा सहयोग पुगेको देखिन्छ । यसैगरी, मुलुकी अर्थतन्त्रको प्रतिबिम्बका रूपमा रहेको सेयर बजारमा पनि निर्वाचनले सकारात्मक उत्साह देखाइरहेको छ । स्थानीय तहको निर्वाचन मिति घोषणादेखि नेप्से परिसूचक र दैनिक कारोबार रकममा उल्लेख्य सुधार भएको अवस्था थियो । पछिल्लो समयमा संघीय व्यवस्थापिका र प्रदेशसभाको निर्वाचन घोषणा यताका दिनमा नेप्से परिसूचकमा सामान्य उतारचढाव आइरहेको भए पनि समग्रमा सेयर बजारको स्थिति उत्साहप्रद नै रहेको देखिन्छ ।

निर्वाचनमय बनेको नेपाली अर्थतन्त्रको पछिल्लो अवस्था हेर्दा यी सकारात्मक परिदृश्यहरूका अलावा केही नकारात्मक पाटाहरू पनि देखापरेका छन् । अल्पकालीन अवधिमा हेर्दा देशको सिंगो अर्थतन्त्रमा शृंखलाबद्ध निर्वाचनले केही नकारात्मक असरहरू पनि देखाएको छ । निर्वाचनका कारण उत्पादनशील एवं पुँजीगत खर्चमा कमी आउने तर अनुत्पादक चालू खर्च मात्रै बढोत्तरी हुने अवस्था देशको अर्थतन्त्रका लागि हितकर हुन सक्दैन । निर्वाचनको समयमा एकैपटक ठूलो मात्रामा नगद प्रवाह भएसँगै बजार मूल्यमा तीव्र बढोत्तरी भइरहेका समाचारहरू सार्वजनिक भएका छन् । गत आर्थिक वर्षको अन्त्य र चालू आर्थिक वर्षको आधाजसो समयसम्म चलिरहने निर्वाचनको सिलसिलाले अझै केही समय सरकारी निकायहरूको सम्पूर्ण ध्यान निर्वाचनतिरै खिचिरहने अवस्था छ । स्थानीय तहदेखि प्रतिनिधिसभासम्मका चरणबद्ध निर्वाचनका लागि व्यापक रूपमा कर्मचारीको परिचालन भएसँगै विकास निर्माणका काममा केही हदसम्म बाधा उत्पन्न भएको र यसैले पनि कमजोर रहेको पुँजीगत खर्चको मात्रालाई अझै कमजोर बनाएको छ । यही कात्तिक १५ गतेसम्म अर्थात्, चालू आर्थिक वर्षको साढे चार महिनामा यस वर्ष विनियोजित पुँजीगत बजेटको ५ प्रतिशत मात्र खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले पनि यसको पुष्टि गरिरहेको छ । अर्कोतर्फ, संघीय व्यवस्थापिका र प्रदेशसभाका आसन्न निर्वाचनहरू सम्पन्न भइसक्दासम्म चालू आर्थिक वर्षको आधा समय व्यतित हुने अवस्था रहिरँदा यस वर्ष सरकारी खर्च र विकास निर्माणका कामको गतिमा नकारात्मक असर देखापर्ने खतरा पनि कायमै रहेको छ ।

नेपालमा केही कालखण्ड यता र हालसालै सम्पन्न भएका निर्वाचनलाई मुलुकको अर्थतन्त्रको कोणबाट हेर्दा अर्थतन्त्रमा परेको प्रभाव मिश्रित रूपमा रहेको देखिन्छ । पछिल्लो सन्दर्भमा नयाँ संविधान र संघीयताको कार्यान्वयनलाई पूर्णता दिन सरकारका सबै तहमा जनप्रतिनिधिहरूको छनोटका लागि निर्वाचन आवश्यक मात्रै हैन, अपरिहार्य छ भन्ने तथ्यमा आम सचेत नागरिकको दुईमत हुन सक्दैन । विभिन्न तहमा चरणबद्ध रूपमा भइरहेका निर्वाचनले अल्पकालमा केही नकारात्मक आर्थिक प्रभावहरू छाड्नसक्ने भए पनि यसले देशमा लामो समयदेखिको राजनीतिक संक्रमणलाई पार लगाई विकास र समृद्धिको मार्गप्रशस्त गर्ने सम्भावना पनि उत्तिकै रहन्छ । तथापि, निर्वाचनका कारण अर्थतन्त्रमा देखिनसक्ने यावत् नकारात्मक प्रभावहरूबाट मुलुकी अर्थतन्त्रलाई मुक्त राख्दै यसका सकारात्मक पाटाहरूको पक्षपोषणतर्फ पनि उत्तिकै ध्यान पु¥याउन आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij