
काठमाडौं । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ४ हजार ७०८ जना उमेदवार चुनावी मैदानमा होमिएका छन् ।
मनोनयन दर्ता गर्ने कार्यक्रम शान्तिपूर्ण र राजनीतिक दलहरुको उत्साहजनक सहभागितामा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
दोस्रो चरणमा ४५ जिल्लाका प्रतिनिधिसभातर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २५६ निर्वाचन क्षेत्रका लागि बिहान १० देखि अपरान्ह ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको व्यवस्था गरिएको थियो ।
“निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन संचालन केन्द्र (जेइओसी) बाट प्राप्त बेलुका साढे ८ बजेसम्मको विवरण अनुसार, प्रतिनिधिसभातर्फ १,७४२ र प्रदेशसभा सभातर्फ २,९६६ गरी जम्मा ४,७०८ जनाको उम्मेदवारी दर्ता भएको छ,” निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने, “प्रतिनिधिसभातर्फ १२६ र प्रदेशसभातर्फ २०९ गरी जम्मा ३३४ महिला उमेदवार रहेका छन् ।”
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij