
काठमाडौँ । सर्वोच्च अदालतले हत्यामा दोषी ठहर गरेका माओवादी केन्द्रका नेता तथा पूर्व सभासद् बालकृष्ण ढुंगेल अहिले डिल्लीबजारस्थित सदरखोरमा छन्। उनी विक्रम संवत् २०८६ सालमा मात्रै त्यहाँबाट मुक्त हुनेछन्।
प्रहरीले आज बिहान उनलाई पक्राउ गरी बबरमहलस्थित फैसला कार्यान्वयन निर्देशनालयमा पुर्याएको थियो। निर्देशनालयका ध्रुवकुमार ढकालका अनुसार उनको १२ वर्ष ५ महिना २२ दिन कैद भुक्तान बाँकी छ।
ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको २०५५ सालमा भएको हत्यामा दोषी ठहर पूर्वसभासद् ढुंगेललाई सर्वोच्च अदालतले २०६६ पुस १९ गते ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। यसमा सात वर्ष कैद भुक्तान यसअघि नै गरिसकेको ढकालले बताए।
नेपालको संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था छ। तर ढुंगेलको हकमा तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीशहरु सुशीला कार्की, वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, र ओमप्रकाश मिश्रको इजलासले २०७२ पुसमै आममाफी नदिन राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा परमादेश जारी गरिसकेको छ। त्यसैले १२ वर्ष कैद भुक्तानको विकल्प छैन।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij