कुनै पनि चाडपर्व पौराणिक महत्तवसँग गाँसिएको हुन्छ । छठ शब्द दुईवटा शब्द अर्थात् छह् (६ वटा अवस्था) र हाथ् (हात योग) मिलेर बनेको हो, अर्थात शाब्दिक रूपले छठको अर्थ ६ वटा अवस्थामा गरिने एक किसिमको हात योगजस्तै एउटा प्रक्रिया हो, जुन योगका माध्यमले प्रत्यक्ष सौर्य शक्ति प्राप्त गर्न सकिन्छ । अर्को तरिकाले हेर्दा हिन्दू क्यालेन्डरअनुसार छठको अर्थ संख्या छैटौं हो, जुन कार्तिक शुक्लपक्षको छैटौं दिन अर्थात् षष्ठी तिथिलाई जनाउँछ ।
जानकार योगीका अनुसार छठ पर्व निरन्तर रूपले प्रकाशबाट शक्ति प्राप्त गरिने प्रक्रिया हो । यसको वैज्ञानिक पक्ष भने छठ गर्दा सूर्यको प्रकाशमा भएको शक्ति व्रतालुको आँखा र छालाका माध्यमबाट मस्तिष्कमा गई जैविक विद्युत् करेन्ट उत्पन्न गर्छ, जसका कारणले सम्पूर्ण शरीर सौर्य शक्तिबाट रिचार्ज हुन्छ ।
छठ पर्वको सुरुवातका सन्दर्भमा यसको कसैले ठोस प्रमाण भेटेको छैन । तर विभिन्न युग र कालखण्डमा विभिन्न प्रसंगहरू उल्लेख भएको पाइन्छ । सत्य युगमा पुलस्त्य मुनी र सत्यव्रती भीष्मको वार्तालापमा छठको उल्लेख पाइन्छ । केही जानकार विद्वानको भनाइअनुसार त्रेता युगमा भगवान् राम र सीता वनबासबाट फर्केपछि छठ व्रत गरी सूर्यपूजा गरेका थिए र त्यो नै आजसम्म निरन्तर चलिरहेको छ । द्वापरमा महाभारत कालखण्डमा पाण्डवहरूको अज्ञातबासका बेला पाण्डवहरूले कल्याण होस् र युद्घमा विजय होस् भनी राजा विराटको घर अहिलेको विराटनगरमा द्रौपदीले सूर्य भगवान्को पूजा अर्थात् छठ पूजा गरेकी थिइन् । अर्को मान्यताका आधारमा अंग देशको राजा सूर्यपुत्र दानवीर कर्णले सूर्य पूजा अर्थात् छठ पूजा गरेका थिए भन्ने कथन छ । स्कन्द पुराणमा विस्तृत चर्चासहित भनिएको रहेछ, यो व्रत नियम, निष्ठापूर्वक जो पनि गर्न सक्छ । जात वा धर्मको कुनै बन्धन छैन । स्त्री, पुरुष वा सबै उमेरका मानिस यस व्रतका अधिकारी हुन् । यसबाट के स्पष्ट हुन्छ भने यो पर्व पौराणिक कालभन्दा पनि पहिलादेखि प्रचलनमा रहेको छ ।
ऋग्वेदमा सूर्य पूजाको महत्तवको वर्णन गरिएको छ । ‘हे जाज्वल्यमान सूर्यदेव, जब तिमी उषाको काखमा उदाउँछौ, तब भक्तजनहरू गीत गाएर तिम्रो स्तुति गर्छन्’ भनिएको छ । ऋग्वेदमा सूर्यलाई सबै देवताको स्रोत मानिएको छ र ऋग्वेदकै अनुसार उदयकालीन र मध्यकालीन सूर्यको उपासना गर्नाले दीर्घ आयु प्राप्त गर्न सकिन्छ । अथर्व वेदमा सूर्यलाई औषधिकार घोषित गरिएको छ । सूर्यको देवत्वलाई संसारको लगभग सबै संस्कृतिले स्वीकार गरेको छ । सूर्योपनिषद्मा सूर्यलाई ब्रह्मा, विष्णु, महेशको शक्तिका रूपमा चर्चा गरिएको छ । वेदमा उल्लेख भएअनुसार उषालाई पहिलो किरण नै छठ परमेश्वरी भनिन्छ । यसरी वेदको समयबाटै यो पर्वको प्रचलन कायम हुँदै आएको पाइन्छ । वैज्ञानिक अथवा योगको भाषामा छठ ६ वटा अवस्थामा गरिने योगका माध्यमले सूर्यको किरणमा रहेको सौर्य शक्ति प्राप्त गर्ने विधि हो ।
सौर्य शक्ति व्रतालुहरूको आँखाको रेटिना र छालाको माध्यमले पिट्युटरी, हाइपोथालामस र पिनियल ग्रन्थी सक्रिय हुन्छ । अनि सौर्य शक्ति विभिन्न स्पाइन र न्युरोनको माध्यमले शरीरको विभिन्न भागमा जान्छ र व्रतालुको शरीर पावरहाउसमा परिवर्तित हुन्छ, जसका कारण शरीरका सबै निष्क्रिय तन्तु फेरि सक्रिय हुन्छन्
उपवास, सरसफाइ र विशेष अनुशासनले शरीर र दिमागलाई निविर्षीकरण गर्न मद्दत मिल्छ । आधा शरीर पानीमा डुबाई उभिँदा प्राप्त शक्ति शरीरबाट बाहिर निस्कन पाउँदैन र शक्ति दिमागतिर जान थाल्छ । सौर्य शक्ति व्रतालुहरूको आँखाको रेटिना र छालाको माध्यमले मानिसको शरीरमा प्रवेश गरेपछि पिट्युटरी, हाइपोथालामस र पिनियल ग्रन्थी सक्रिय हुन्छ । अनि सौर्य शक्ति विभिन्न स्पाइन र न्युरोनका माध्यमले शरीरको विभिन्न भागमा जान्छ र व्रतालुको शरीर पावरहाउसमा परिवर्तित हुन्छ । जसका कारण शरीरका सबै निष्क्रिय तन्तु फेरि सक्रिय हुन्छन् । यसलाई योगको भाषामा कुन्दलिनी शक्ति भनिन्छ ।
मान्छेको शरीर एउटा शक्ति सञ्चारको बाटो हो । छठ प्रक्रियाको प्रमुख उद्देश्य दिमाग र शरीरको विभिन्न भागमा सौर्यशक्ति प्रवाह गर्नु हो । रेटिनाले एउटा प्रकाश प्राप्त गर्छ अर्थात् जब आँखा घामको उज्यालोमा हुँदा शक्ति प्राप्त गर्छ अर्थात् जब आँखा घामको उज्यालोमा पर्छ, तब विद्युत् शक्ति रेटिना र पिनियल ग्रन्थीलाई जोड्ने नसा भएर रेटिनाका माध्यमबाट पिनियल ग्रन्थीमा जान्छ । पिनियल ग्रन्थी, पिट्युटरी र हाइपोथालामस ग्रन्थीको धेरै नजिक हुन्छ, जहाँ यी तीनवटैलाई त्रिवेणी भनिन्छ । जसका कारणले उत्पादित शक्तिको प्रभाव यी तीनै ग्रन्थीमाथि पर्छ । यिनीहरूकै सक्रियताले राम्रो स्वास्थ्य र शान्त दिमाग प्राप्त हुन्छ । छठ पर्वको पूजाले गर्दा रोग प्रतिरोधात्मक क्षमता बढ्छ । छठको विभिन्न मान्यता र प्रक्रिया पूरा गर्दा सूर्यको सुरक्षित किरणले चर्मरोग निको पार्न मद्दत गर्छ । सौर्य शक्तिको प्रभाव ग्रन्थीमाथि पर्दा सन्तुलित हर्मोन उत्पादन हुन्छ ।
छठ सबैको साझा हो, जुन पर्वमा कुनैपनि धर्म, जात, लिंग, वर्णको छेकवार हुँदैन । कुनैपनि व्यक्तिले आफ्नो आस्था राखी छठ पर्व मनाउन सक्छन् । त्यसैले यो पर्व संसारमै सामाजिक सद्भावको अद्वितीय नमूना हो । संसार प्रगतिपथमा लागेका बेला यो पर्वमा अस्ताउँदो सूर्यलाई अर्घ दिनाले हामीले आफ्नो बूढापाकालाई पहिले सम्मान गर्नुपर्छ भन्ने सन्देश बोकेको पाइन्छ । मानव सभ्यताको आरम्भसँगै मध्यदेशीय समाजमा शक्तिको प्रमुख स्रोतका रूपमा रहेका सूर्यबाट प्रत्यक्ष अथवा अप्रत्यक्ष प्राप्त शक्तिबाट उत्पादित कृषि सामग्री ः अदुवा, मुला, सखरखण्ड, गहुँको पिठोबाट बनेको ठेकुवा, चामलको पिठोबाट बनेको केसार वा भुसुवा आदि अदलबदल गरी भए पनि सूर्यलाई अर्घ दिने चलन छ । छठ एउटा यस्तो पर्व हो, जसमा कुनै पण्डित पुरोहितको आवश्यकता पर्दैन । समाजका प्रत्येक वर्ग तथा जातका व्यक्तिले यो पर्व आफू स्वयंले सम्पन्न गर्न सक्छन् । यो पर्वको अर्को सामाजिक महŒव के छ भने मधेसी समुदायमा कथित सबभन्दा तल्लो जातको दर्जा दिइएको डोम, हलखोर जातले बनाएको दाउरा, सुपुलीमा नै पर्व निष्ठापूर्वक गरेमा सन्तान प्राप्त हुने मान्यता छ ।
कुनैपनि समाजलाई संस्कृतिले जोड्छ । यो पर्वको सबभन्दा महŒवपूर्ण पक्षचाहिँ सांस्कृतिक पक्ष हो । जसले विभिन्न मान्यता, रहनसहन, रीतिरिवाज बोकेको वर्ण, वर्ग तथा जातका लाई एकैठाउँमा उभ्याउँछ । वर्षभरि बढेको दूरीलाई कम गरी एक अर्कालाई नजिक ल्याउँछ र पुनर्ताजगी गर्छ । नेपालमा हाल राजनीतिक घटना परिघटनाका कारण विभिन्न समुदायका मानिसबीच असमझदारी, चिसोपना र दूरी बढेका बेला यस पर्वले सबैलाई नजिक एकैथलोमा ल्याई आफ्नो कुरा आदानप्रदान गर्ने वातावरण मिलाउन महŒवपूर्ण भूमिका खेल्नेछ । आपसमा राजनीतिले बढाएको दूरीलाई छठ पर्वको संस्कृतिले कम गरी एमाले र माओवादी केन्द्र मिलेझैं सम्पूर्ण दलहरूलाई पनि मिलाउनेछ । सौर्य शक्तिले सुशासनको शक्ति उत्पन्न गराउनेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij