२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

आज धुमधामसँग छठ पर्व मनाईँदै

आज धुमधामसँग छठ पर्व मनाईँदै

धनुषा । मिथिलाञ्चलमा बिहीबार सूर्य देवता अर्थात दिननाथको पूजा आर्चना गरी धुमधामसँग छठ पर्व मनार्इँदैछ ।

छठ पर्वको षष्टी आर्थात बिहीबार अस्ताउँदो सूर्य र शुक्रबार सप्तमीका दिन उदाउँदो सूर्यको अर्घ दिएपछि बिधिवत रुपमा छठ पर्व समापन हुने छ । छठ पर्वको मूल विधि चतुर्थीदेखि सुरु भएर षष्ठीको दिन अस्ताउँदै गरेको सूर्य र सप्तमीको दिन बिहान उँदाउदै गरेको सूर्यको अर्घ दिइन्छ ।

सूर्य भगवानलाई अर्घ दिन जनकपुरलगायत मिथिलाञ्चलका अन्य ठाउँका नदी तलाउ , पोखरी , इनारलगायतको जलाशयको किनार एवं घाटहरुलाई विशेष रुपले दुलही झैँ सिंगारिएको छ । खास गरी जनकपुरको धार्मिक तथा ऐतिहासिक सरोवर ,पोखरी ,तलाउहरु साजाइएर झकिझकाउ पारिएको छ ।

जनकपुरको धार्मिक तथा ऐतिहासिक महत्वको गंगासागर , धनुष सागर , अर्गजा सागर , दशरथ तलाउ , गोरधोई पोखरीलगायतका तलाउहरुको घाटमा छठ गर्नेहरुले बिहानैदेखि पूजाका सामग्रीहरु लिएर जाने क्रम सुरु भएको छ । छठ पर्व हेर्न स्वदेशी तथा विदेशी पाहुनासँगै श्रद्धालुहरुको घाटहरुमा भिड लाग्ने गर्दछ ।

मिथिलाञ्चलमा पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै छठ पर्व श्रद्धापूर्वक मनाइन्छ । छठ पर्वको पहिलो दिन नुहाएर खाने , दोश्रो दिन प्रसादको रुपमा खीर ग्रहण गरी खरना गर्ने , तेश्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन बिहान उदाउँदो सूर्यको अर्घ दिइन्छ । अन्तिम दिनलाई पारन पनि भनिन्छ । यो दिन छठ पर्वमा चढाइएको प्रसाद एवं घरमा मिठोमिठो परिकारहरु बनाएर खाने र छठ पर्व नहुनेहरुलाई निमन्त्रणा गरी खुवाउने प्रचलन छ । त्यस्तै प्रसाद वितरण पनि गर्ने गरिन्छ ।

यस पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हातीलगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा भुसुवा, ठकुवा, खाजा, उखु, हल्दी, अदुवा, विविध प्रकारको मिठाई तथा फलफूल सूर्य देवता अर्थात दिनानाथलाई चढाइन्छ । ४८ घन्टासम्म व्रतालुहरु पानी पनि नखाई यस पर्वमा उपवास बस्नु पर्छ । छठ पर्वका लागि अर्घको रुपमा तयार गरिने परिकारहरु अत्यन्तै निष्ठापूर्बक तयार गरिनुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।

छठ पर्वलाई समाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिइन्छ । पहिले तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व हिजोआज पहाडका बासिन्दाले समेत मनाउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij