काठमाडौं । पहिलो चरणको निर्वाचनका लागि प्रत्यक्षतर्फ उमेदवारी दिएकामध्ये ९७ जनाले आफ्नो उमेदवारी फिर्ता लिएका छन् भने एक जनाको रद्द भएको छ ।
निर्वाचन आयोगका अनुसार कात्तिक ५ गते ८०७ जनाले उमेदवारी दिएका थिए । त्यसमध्ये ४ जनाको उमेर हदका कारण उमेदवारी रद्द भएको थियो । जसले गर्दा अब प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा १११ पदका लागि ७०५ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।
उमेदवारी फिर्ता लिनेमा मनाङको प्रदेशको २ नम्बर क्षेत्रकी एमाले उमेदवार खण्डा लामादेखि, माओवादी नेता तथा पूर्व गृहमन्त्री शक्ति बस्नेतविरुद्ध बागी उठेका एमालेका गोविन्दविक्रम शाहले पनि उमेदवारी फिर्ता लिएका छन् । त्यस्तै, रुकुममै माओवादी केन्द्रका उमेदवार कमला रोकाविरुद्ध उमेदवारी दिएका माओवादीकै तेजेन्द्र खाम मगरले पनि उमेदवारी फिर्ता लिएका छन् ।
यता माओवादी केन्द्रका उमेदवार तथा पूर्व गृहराज्य मन्त्री श्यामकुमार श्रेष्ठविरुद्ध उमेदवारी दिएकी लक्ष्मी गुरुङले पनि काठमाडौंबाट हेलिकप्टर चढेरै उमेदवारी फिर्ता लिएकी छन् ।
यसरी पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाका ८०३ उमेदवारमध्ये ९७ जनाले उमेदवारी फिर्ता लिएका हुन् भने एक जनाको खारेज भएको हो ।
नुवाकोटबाट प्रदेशसभाका लागि कांग्रेसबाट उमेदवार बनेका रमेश महतलाई कृषि विकास बैंकको बोर्ड सदस्य रहेको भन्दै उजुरी परेको थियो । तर, जिल्लाबाट आरोप पुष्टी नभएकोले उमेदवारी कायम गरेको सुचना आयोगमा आएको पाइएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij