काठमाडौं । आइतबार बिहान काठमाडौंको म्हैपीमा गोरखा लाप्राक ४ का कल्याण गुरुङमाथि गोली प्रहार गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
डिस्कोमा केटीका कारण विवाद उत्पन्न हुदा आइतबार बिहान साँढे तीन बजेतिर काठमाडौंको म्हैपीस्थित बहती पोखरीमा गुरुङलाई कारमा आएको एक समूहले गोली प्रहार गरेको थियो ।
बा ५७ प ६९५७ नम्बरको स्कुटरमा सवार गुरुङलाई सेतो कारमा आएको समूहले म्हैपी बहती पोखरीनजिकै सडकमा गाडी राखेर गोली प्रहार गरी भागेको र उनीहरू सबैजनालाई नियन्त्रणमा लिइसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रविन्द्र धानुकले बताए ।
उनका अनुसार गोली प्रहार गर्नेसहित ५ जनालाई पक्राउ गरिएको छ । तर, प्रहरीले उनीहरूको नाम भने गोप्य राखेको छ ।
पक्राउ पर्नेमा २ जना युवती समेत रहेका छन् । डिस्कोमा राति युवतीका कारण विवाद भएको र विवादपछि गुरुङ बस्ने डेरा तर्फ जादै गरेका बेला पिछा गर्दै गएको समुहले उनीमाथी गोली प्रहार गरेको एसएसपी धानुकले बताए ।
“घटनामा प्रयोग भएको गाडी सहित मुख्य अभियुक्तलाई पनि नियन्त्रणमा लिसकेको छौं,” एसएसपी धानुकले भने, “अनुसन्धान हुँदैछ ।”
घाइते गुरुङको शिक्षण अस्पताल टिचिङमा उपचार भइरहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij