काठमाडौं । संयुक्त राष्ट्रसंघ महासभाको चालु ७२ औँ अधिवेशनले नेपाललाई संयुक्त राष्ट्रसंघको ४७ सदस्यीय मानव अधिकार परिषद्को एशिया तथा प्रशान्त क्षेत्रको सदस्यमा निर्वाचित गरेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार यही वर्षको अन्त्यमा रिक्त हुने चारवटा सदस्यमध्ये एक स्थानमा नेपाल सबैभन्दा बढी १६६ मत प्राप्त गरी निर्वाचित भएको हो ।
मानव अधिकार परिषद्मा भएको निर्वाचनबाट नेपालको संविधानमा रहेका मूलभूत प्रावधानहरू, नेपालको मानव अधिकार संरक्षण र संम्वद्र्धनप्रतिको प्रतिबद्धता र नेपालको आफ्नै मौलिकपनको शान्तिप्रक्रिया तार्किक निष्कर्षमा पुगेको अवस्थाप्रति अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको र समर्थन गरेकाले सो सदस्यमा विजयी भएको हो ।
मानव अधिकार परिषद्को सदस्यको हैसियतमा नेपालले मानव अधिकारको संरक्षण र संम्वद्र्धनका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गरी प्रयासरत रहने सरकारको प्रतिबद्धता रहेको छ।
मानव अधिकार परिषद्को सदस्यमा सफल निर्वाचनका लागि सहयोग र समर्थन प्रदान गर्नुहुने छिमेकी राष्ट्रलगायत सम्पूर्ण मित्रराष्ट्रहरूप्रति सरकारले आभार व्यक्त गरेको छ ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र संघको ७२ औँ महासभालाई सम्बोधन गर्ने क्रममा उक्त परिषद्मा नेपालको पनि प्रतिनिधित्व गराउन प्रस्ताव गर्नुभएको थियो । रासस
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij