२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

६ करोडको मुद्दाले एमालेमा खैलाबैला !

६ करोडको मुद्दाले एमालेमा खैलाबैला !

काठमाडौं । वामपन्थी गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेले असोज २९ गते बुझाएको समानुपातिकतर्फको उमेदवारको बन्द सूची वास्तविक सूची नभएर केवल डमी सूचीमात्र बन्न पुगेको छ । यो सूची डमीमात्र बन्नमा धेरैको नाम सिफारिस भएको बाहेक अर्को ठूलो रहस्य रहेको सेतोघरलाई एमालेका एक उच्च सुत्रले जानकारी गराएका छन् ।

एमालेले उमेदवारको टुंगो लगाउन आइतबार बिहान आठबजे अध्यक्ष ओलीको निवास बालकोटमा स्थायी कमिटीको बैठक बोलाएको थियो । सो बैठक भैसेपाटीमा पनि शुक्रवार बेलुका बसेको थियो, तर तोकिएको भन्दा आठ गुणा बढीसम्म नाम आएको कारण आइतबार विहान फेरि बस्नेगरी बैठक सारिएको थियो । आइतबार बिहानै उपसभामुख गंगाप्रसाद यादव एमाले प्रवेश गरेका कारण बैठक दुई तीन घन्टा पर धकेलियो । अन्ततः बैठक बसेपनि ६ करोड कता गयो भन्ने मुद्दा उठेकाले निर्णयभन्दा बढी खैलाबैला भएको कुरा स्रोतले जनाएको छ ।

बैठकमा जब विषयान्तर भयो
बिहान ८ बजे बोलाइएको बैठक मध्याह्न १२ बजे सुरू भयो । बैठक बसेर सूची टुंग्याउनैपर्ने भएपछि प्रदेश प्रमुखहरूले नाम सर्टिङ गरेर ल्याएका थिए । तर, बैठकको सुरूवातमै वरिष्ठ नेता माधव कुमार नेपालले ‘ पार्टीको नाममा सहयोग आएको ६ करोड खै ?’ भनेपछि बैठकमा विषय मोडिएको मात्र हैन पुरै खैलाबैला नै भयो ।

स्रोतका अनुसार केही सयमअघि एनआरएनका निवर्तमान अध्यक्ष शेष घलेले एमालेलाई ६ करोड सहयोग बुझाएका थिए । तर त्यो पैसा शनिबारसम्म पनि पार्टीको खातामा जम्मा नभएपछि नेता नेपालले सबैको अगाडि सो प्रसंग निकालेका थिए । यो कुरा उठेपछि बैठक अर्कै विषयमा मोडिएको थियो ।

अध्यक्ष ओलीले यो विषय यहाँ नउठाउँ भनेर टार्ने प्रयत्न गरे पनि नेता नेपालले ६ करोडको फेहरिस्त मागिरहे ।

कहाँ गयो ६ करोड ?
स्रोतका अनुसार सो सहयोग रकममध्ये दुई करोड पार्टी पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री युवराज कार्कीले र दुई करोड पूर्वमन्त्री महेश बस्नेतले लगेको जवाफ दिए पनि अध्यक्ष ओलीले त्यसबाहेकको दुई करोड यहाँ छ भन्न सकेनन् । बरु बारम्बार यो विषय पछि उठाउँ, अहिले समानुपातिकको सूची टुंग्याउँ भन्दै पन्छाउन खोजे ।

तीन घन्टा बढी गलफती गरे पनि ६ करोड काण्ड नसुल्झिएपछि एमाले बैठक समानुपातिकको सूची टुंग्याउने विषयतिर त अघि बढ्यो । तर, समय घर्किसकेको थियो ।

बैठकका उपमहासचिव घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले अन्तिम समयसम्म पनि नामावली टुंगाउन नसकेको भन्दै बैठकमा आलोचना गरेका थिए ।

पछि सच्याउने गरी तत्काललाई प्रदेश प्रमुखले टिपाएका नाम समेटेर एमालेले सूची बुझायो आइतबार । भुसालसहित नेता नेपाल पक्षधरहरूले संस्थागत छलफल हुने छाडेको र समानुपातिक उमेदवारजस्तो विषय पनि गुपचुप राखिएको भन्दै असन्तुष्टि पोखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij