२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

समानुपातिकतर्फ ५२ वटा दलद्वारा उम्मेदवारको बन्दसूचि पेश

समानुपातिकतर्फ ५२ वटा दलद्वारा उम्मेदवारको बन्दसूचि पेश

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न ५२ वटा राजनीतिक दलले उम्मेदवारको बन्दसूचि पेश गरेका छन् ।

कान्तिपथस्थित निर्वाचन आयोगको परिसरमा स्थापना भएको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयमा दलहरुले उम्मेदवारको बन्दसूचि पेश गरेको आयोगले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । यस अवसरमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राजनीतिक दलहरुले धैर्यता, संयमता र उत्साहका साथ उम्मेदवारको बन्दसूचि पेश गर्नुभएको भनी प्रशंसा गर्नुभयो ।

आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिताको पालनाका साथै लोकतन्त्रको मूल्यमान्यतालाई आत्मसात् गर्न सरकार र राजनीतिक दलसँग उहाँले आग्रह गर्नुभयो ।
“निर्वाचनलाई सफल तुल्याउन सरकार, राजनीतिक दल र उम्मेदवारबाट सहयोग हुने अपेक्षा गरिएको छ,” उहाँले भन्नुभयो ।

निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले समानुपातिक निर्वाचनको बन्दसूचि बुझाउने प्रक्रिया गणितीय, प्राविधिक र जटिल भएकाले बन्दसूचीलाई प्रक्रिया पूरा गरेर दर्ता गर्न समय लागेको बताउनुभयो ।

बन्दसूचि पेश गर्नका लागि आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्मको समय निर्धारण गरिएको थियो । आयोगमा दर्ता भएका कूल ९१ राजनीतिक दलमध्ये ८८ वटा राजनीतिक दलले समानुपातिकतर्फ उम्मेदवारी दर्ताका लागि यसअघि आयोगमा निवेदन दर्ता गराएका थिए ।

आयोगमा उम्मेदवारको बन्दसूचि पेश गर्ने राजनीतिक दलहरुमा ग्रिन पार्टी नेपाल, राष्ट्रिय यथार्थवादी पार्टी नेपाल, राष्ट्रिय जनता दल नेपाल, चुरे भावर लोकतान्त्रिक पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल युवा किसान पार्टी, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी), ताम्सालिङ लोकतान्त्रिक पार्टी, नेपाली कांग्रेस, नेपाल समावेशी पार्टी, नेपाल समाजवादी पार्टी लोहियावादी, जनशक्ति नेपाल, जनतान्त्रिक पार्टी नेपाल, राष्ट्रिय शिवसेना पार्टी र नागरिक पार्टी रहेका छन् ।

यसैगरी, राष्ट्रिय जनता पार्टी नेपाल, देशभक्त समाज, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी, देशभक्त लोकतान्त्रिक पार्टी, बहुजन शक्ति पार्टी, दलित मुस्लिम जनशक्ति पार्टी, संघीय समाजवादी फोरम नेपाल, नेपाल जनता पार्टी, नेपाल मजदुर किसान पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट, युवा नेपाल पार्टी, राष्ट्रिय जनमोर्चा, लिबरल डेमोक्र्याटिक पार्टी र देशभक्त जनगणतान्त्रिक मोर्चाले उम्मेदवारको बन्दसूचि पेश गरेका छन् ।

यस्तै, नयाँ शक्ति पार्टी नेपाल, हाम्रो नेपाल पार्टी, नेपालवाद, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, नेपाल दर्शन, राष्ट्रिय प्रजातन्त्र पार्टी, मंगोल नेसनल अर्गनाइजेशन, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), नेपाल कम्युनिष्ट पार्टी (एमाले), संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल, राष्ट्रिय त्रिशूल बहुजन समाजवादी पार्टी, नेकपा माले समाजवादी पार्टी नेपाल, नेपाल नौलो जनवादी पार्टी, नेपाल लोकतान्त्रिक फोरम, नेकपा माओवादी केन्द्र, नेपाल सुकुम्वासी पार्टी लोकतान्त्रिक, नेपाल लोकतान्त्रिक जनता काँग्रेस, नेपाली जनता दल, नेपाली काँग्रेस विपी, राष्ट्रिय मुक्ति आन्दोलन, राष्ट्रिय समाजवादी पार्टी नेपाल, नेपाल दलित पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले समेत उम्मेदवारको बन्दसूचि पेश गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij