काठमाडौं । तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठको पालामा भएको सर्वोच्च अदालतमा ११ न्यायाधीशको नियुक्ति गैरसंवैधानिक भन्दै परेको रिट निवेदन दरपीठ गर्ने सर्वोच्च प्रशासनको निर्णय सदर भएसँगै ती न्यायाधीश हटाउने कानुनी बाटो बन्द भएको छ।
आज ओमप्रकाश मिश्रको एकल इजलासले सर्वोच्चका निमित्त मुख्य रजिस्ट्रारले गएको असोज २ गते दरपीठ गर्ने आदेश बेरितको नदेखिएको भन्दै बदर गर्न अस्वीकार गरेको हो।
०७२ फागुन १८ गते न्यायपरिषद्ले सर्वोच्चमा रिक्त ११ न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो। त्यतिबेला संविधानको धारा १५३ मा ५ सदस्यीय न्यायपरिषद्को व्यवस्था भए पनि तीन पदाधिकारीमात्रै थिए। प्रधानन्यायाधीश श्रेष्ठ, वरिष्ठ न्यायाधीश सुशीला कार्की र कानुनमन्त्री अग्नि खरेल सम्मिलित तीन सदस्यीय न्यायपरिषद्ले ११ जना न्यायाधीशको नाम त्यतिबेला सिफारिश गरेको थियो।
डा. विजयसिंह सिजापतिले न्यायपरिषद् समेतलाई विपक्षी बनाई सर्वोच्चमा दायर रिट २०७२ चैत ७ गते खारेज भइसकेको थियो। सो फैसला पुनरावलोकन गरी पाउँ भनी परेको अर्को निवेदनलाई अदालतको पूर्ण इजलासले पुनरावलोकनको अनुमति प्रदान गर्न नमिल्ने भनी आदेश भएको थियो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij