२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

विकासका जटिल काम गर्न सेना तयार : प्रधानसेनापति

विकासका जटिल काम गर्न सेना तयार : प्रधानसेनापति

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले मुलुकको विकासका लागि जटिल र जोखिमपूर्ण काम गर्न नेपाली सेना सधैं तत्पर रहेको बताएका छन् ।

‘विगतदेखि अहिलेसम्मको इतिहासलाई केलाउने हो भने पनि विकास निर्माणका निकै जटिल काम नेपाली सेनाले गर्दै आएको छ । अहिले पनि कैयौं जटिल कार्य मेहनतसाथ अघि बढाइरहेका छौं,’ उनले भने, ‘मुलुकका हरेक भेगलाई जोड्न सेनाले ट्रयाक खोल्नेदेखि पक्की सडक निर्माणसम्मका काम गर्दै आएको छ ।’

यसको पछिल्लो उदाहरणका रूपमा उनले ‘फास्ट ट्रयाक’ लाई प्रस्तुत गरे । ‘राष्ट्र विकासमा नेपाली सेना’ नामक पुस्तकको अंग्रेजी अनुवाद सार्वजनिक गर्दै क्षत्रीले उक्त कुरा बताएका हुन् । नेपाली सेनाले दिएको तथ्यांक र सूचनाका आधारमा सरोज अधिकारीले तयार गरेको उक्त पुस्तकको अंग्रेजी अनुवाद प्रवास गौतमले गरेका हुन् ।

सेनाका कार्य राखेर पुस्तक तयार गरिएको छ । सेनाले हालसम्म झन्डै एक हजार एक सय २५ किलोमिटर कठिन र दुर्गम सडक निर्माण गरिसकेको पुस्तकमा उल्लेख छ । यस्तै, सेनाले २१ परियोजना पूरा गरेको छ भने पाँचवटा निर्माणाधीन छन् ।

सेनाले जलविद्युत् उत्पादनमा पनि लाग्ने र सरकारले जिम्मा दिए निर्माण कार्य सम्पन्न गर्ने बताउँदै आएको छ ।

सेनाले यस अलावा कुनै पनि प्राकृतिक प्रकोपका कारण भत्किएको सडक संरचना पुन: निर्माण गर्ने, पहिरो हटाउनेजस्ता कार्य पनि गरिरहेको छ । आफू विकास निर्माण गर्दै जनतालाई जोड्न र मुलुकको मुहार फेर्न सक्रिय रहेको नेपाली सेनाले उल्लेख गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij