काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई धोका दिने र सरकार गिराउने काम नगर्ने प्रतिवद्धता जनाएका छन् ।
व्यवस्थापिका संसद्को बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“हाम्रो गठबन्धन सरकार ढाल्ने र अर्को बनाउनेसँग सम्बन्धित छैन,” दाहालले भने, “यो पवित्र उद्देश्यका साथ बनेको छ । यो सरकारका विरुद्ध परिलक्षित होइन । सरकार सुरक्षित छ भन्दा भन्दै पनि प्रधानमन्त्रीलाई विश्वास भएन । मैले कुनै हालतमा पनि नेपाली कांग्रेसलाई धोका दिने र सरकार गिराउने काम गर्दिनँ । पवित्र उद्देश्यबाहेक केही होइन । अन्तर्राष्ट्रिय जगतलाई पनि अनावश्यक आशंका नगर्न आग्रह गर्दछु ।”
दाहालले अर्को चुनावबाट दुई तिहाई ल्याएर संविधान संशोधन गर्ने पनि प्रतिवद्धता जनाए ।
बढी भन्दा बढी समय गठबन्धन निर्माणको औचित्य पुष्टि गर्ने प्रयास गरेका दाहालले गठबन्धनप्रति आशंका नगर्न कांग्रेससँग पनि आग्रह गरे ।
“माओवादी कहिले दायाँतिर ढल्किएको र कहिले बाँयाँतिर ढल्किएजस्तो देखियो होला,” ४ वर्षे कार्यकालको समीक्षा गर्दै उनले भने, “कहिले एमाले र कहिले कांग्रेस खुसी भए होलान् । तर हामी राष्ट्रको एकतालाई बलियो बनाउने कुरामा विचलित हुँदैनौं र भएनौं पनि ।”
उनले मिडियामा प्रचार भएजस्तो नेपालमा कम्युनिजम आउने अवस्था नभएको बताए । “यो विचित्र र दुखद प्रचार हो । हामीले सम्झौता गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाएका हौं । सामान्य पार्टी र नेताले यो सक्ने कुरा होइन । सेना समायोजन, हतियार व्यवस्थापन, पार्टी फुटाउने कुरा सामान्य होइन,” उनले भने ।
दाहालले कांग्रेससँग पनि सहकार्य गर्दै शान्ति प्रक्रिया टुंगो लगाउने बताए ।
“शान्तिपूर्ण र लोकतान्त्रिक प्रक्रियाबाट जाँदा हामी बुलेटबाट ब्यालेटमा जाँदा हामी पहिलो पार्टी भयौं,” उनले भने, “दोस्रोपटक हामी तलको तेस्रो भयौं । यो विगतमा कांग्रेस र एमालेमाले पनि भोगेको कुरा हो । फेरि पनि हामी ठुलो हौं या सानो हाम्रो आफ्नै मान्यता छ ।”
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij