काठमाडौं । सविधानसभाबाट रुपान्तरित संसदको अन्तिम बैठक शनिबार बस्दैछ । शनिबार मध्यरातदेखि अवधि समाप्त हुने संसदको शुक्रबारको बैठकलाई नै अन्तिम बनाउने भनिएपनि शनिबार सबै दलका शीर्ष नेताले सम्बोधन गर्नेगरी बैठक बस्न लागेको हो ।
शनिबारको बैठकमा फोटो खिच्ने, चियापान गर्ने र सांसदलाई बाटो खर्च पनि उपलब्ध गराइने संसद सचिवालयले जनाएको छ । २०७२ असोज ३ गते संविधान जारी भएपछि तत्कालिन संविधानसभालाई नै संसदमा रूपान्तरण गरिएको थियो । प्रतिनिधि सभा चुनावको मनोनयनको अघिल्लो दिन संसदको अवधि स्वतः समाप्त हुने संवैधानिक व्यवस्थाअनुसार संसदको आयु भरे मध्यरातदेखि सकिँदैछ ।
निर्वाचन आयोगले प्रतिनिधि सभा चुनावका लागि समानुपातिक उम्मेदवारको बन्दसूचि बुझाउन आइतबारसम्मको समय तोकेको छ । संसदले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण धेरै विधेयक पारित गरेपनि राष्ट्रियसभा गठन सम्बन्धी विधेयक र चिकित्सा शिक्षा विधेयक लगायत महत्वपूर्ण विधेयक पारित गर्न सकेन । राष्ट्रियसभा गठनमा बहुमतीय कि एक संक्रमणीय निर्वाचन प्रणाली अपनाउने भन्ने विषय दलहरुबिच सहमति जुट्न नसक्दा विधेयक पारित हुन नसकेको हो ।
त्यस्तै दलहरुबिचकै विवादका कारण चिकित्सा शिक्षा विधेयक पनि अलपत्र परेको हो । सहमति नभएकाले अब सरकारले अध्यायदेश मार्फत विधेयक ल्याउनेछ । राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव प्रतिनिधि सभाको अधिवेशन सुरु भएको एक महिनाभित्र गर्नुपर्ने कानुनी प्रावधान छ । राष्ट्रपति र उपराष्ट्रपतिको चुनावका लागि राष्ट्रियसभा अनिवार्य गठन हुनुपर्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij