२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

वैद्य अब क्रान्तिकारी माओवादीका महासचिव, कार्यदिशा जनयुद्ध कि जनविद्रोह ?

वैद्य अब क्रान्तिकारी माओवादीका महासचिव, कार्यदिशा जनयुद्ध कि जनविद्रोह ?

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को प्रथम राष्ट्रिय सम्मेलन नयाँ कार्यदिशा पारित गर्दै सम्पन्न भएको छ । पार्टीको सम्मेलनले स्पष्ट कार्यदिशा तयार गर्न नसकेको भन्दै सम्मेलनका प्रतिनिधिबीच असन्तुष्टि चुलिएको छ ।

पाँच दिनसम्म चलेको सम्मेलनको बन्दसत्रमा प्रतिनिधिहरूले समूहगत छलफलका क्रममा निर्वाचन बहिष्कार गर्दै सशस्त्र क्रान्तिको आधार तयार गर्दै जनयुद्धको कार्यदिशा तय गर्न आवाज उठाएका थिए । पार्टीका प्रवक्ता हरिभक्त कँडेलले राष्ट्रिय सम्मेलनले जनयुद्धको कार्यदिशा पारित गरेको दाबी गरे । तर अर्का एक केन्द्रीय सदस्यले भने सम्मेलनले सशस्त्र जनविद्रोहको कार्यदिशालाई पारित गरेको बताएका छन् ।

अर्का एक प्रतिनिधिका अनुसार सम्मेलनले सशस्त्र जनयुद्धको जगमा टेक्दै फौजी कार्यदिशा पारित गरेको छ । सामरिक कार्यदिशाको नाम दिइएको सो कार्यदिशालाई सम्मेलनमा समेत प्रस्तुत नगरिएको बताइएको छ । ती नेताले भने, ‘समग्रमा स्पष्ट रूपमा यही भन्ने रहेन तरपनि सशस्त्र जनविद्रोहको जगमा टेकेर फौजी कार्यदिशाको रूपमा सामरिक कार्यदिशा पारित गरिएको छ, जसलाई हेडक्वार्टरका केही सदस्यबाहेक अरूलाई समेत अध्ययनका लागि दिइएको छैन ।’

प्रतिनिधिहरूले जनयुद्धको कार्यदिशासहित निर्वाचन बहिष्कारको आवाज उठाए पनि सम्मेलनले भने सशस्त्र जनविद्रोहको नाममा निर्वाचनको क्रान्तिकारी उपयोगको नीतिलाई पारित गर्दै सम्पन्न भएको हो । सम्मेलनका क्रममा जनयुद्ध र जनविद्रोहको कार्यदिशाका बारेमा बहस चर्किएको थियो । सम्मेलनले रामसिंह श्रीसले राखेको जनयुद्धको सिंहावलोकन विषयको फरक मतलाई भने खारेज गरिदिएको छ ।

श्रीसले सम्मेलनमा जनयुद्ध सही समयमा नभएको भन्दै फरक मत राखेका थिए । एकता प्रक्रियाबाट आएका नेता श्रीससहित सीताराम तामाङले राखेको माओवाद की माओ विचारधारा भन्ने विषयको फरक मतलाई समेत सम्मेलनले अस्वीकार गरेको ती नेताले बताए । यद्यपि यो फरक मतलाई आगामी दिनमा छलफलमा ल्याउन सक्नेगरी ‘रिजर्भेसन’मा राखिएको छ ।

छलफलका क्रममा प्रतिनिधिहरूले पार्टीको नाम नेकपा (माओवादी) राख्नुपर्ने भन्दै आवाज उठाएका थिए । अधिकांश प्रतिनिधिले पार्टीको नाम नेकपा (माओवादी) राख्नुपर्ने मत राखे पनि यसलाई समेत थाती राखिएको ती प्रतिनिधिले जानकारी दिए ।

अध्यक्ष वैद्यले राखेको फौजी कार्यदिशामा पार्टीका नेता भूमिश्वर कँडेलले फरक मत राखेका थिए । तर उनको फरक मतलाई समेत बन्दसत्रमा छलफलमा ल्याइएन । कँडेलले नेपाली क्रान्तिको कार्यदिशा ‘नेपाली विशिष्टतामा आधारित सशस्त्र जनविद्रोह’प्रति विमति जनाउँदै ‘नेपाली विशिष्टतामा आधारित जनयुद्ध’को कार्यदिशासम्बन्धी फरक मत दर्ता गराएका थिए ।

उनले ‘दीर्घकालीन जनयुद्ध’ शीर्षकमा फरक मत दर्ता गराएका थिए । ‘राजनीतिक प्रतिवेदनको ‘विशिष्ट कार्यदिशा नीति तथा कार्यक्रम’ भन्ने शीर्षकको र ‘नेपाली समाजको स्वरूप र पार्टीको आमकार्यदिशा’ भन्ने शीर्षकको १७ नम्बर बुँदामा ‘नेपालको विशिष्टतामा फौजी कार्यदिशा सशस्त्र जनविद्रोह हो र यसलाई अबलम्बन गनुपर्छ, यही नै नेपाली क्रान्तिको बाटो हो’ भनिएको छ, यो गलत भएको छ भन्ने मेरो ठम्याइँ र मत हो,’ कँडेलले राखेको फरक मतमा अगाडि भनिएको छ, ‘नेपालको सन्दर्भमा विगतमा भएका जनआन्दोलन, सशस्त्र संघर्ष र खास गरेर जनयुद्धको आधार र अनुभवमाथि ध्यान दिँदा नेपाली विशिष्टतामा आधारित जनयुद्धको फौजी कार्यदिशा लागू गरेर जानुपर्छ ।’

उनको यो फरक मतलाई बन्दसत्रमा प्रस्तुतसमेत नगरिएको भन्दै प्रतिनिधिहरूसमेत असन्तुष्ट बनेर फर्किएका छन् । सम्मेलनले कार्यदिशामा नयाँ केही नदिएको सम्मेलनबाट काठमाडौं फर्किएका एक प्रतिनिधिले राजधानीलाई बताए । ‘केही नयाँ कार्यदिशा दिएर पार्टीलाई नयाँ ढंगबाट अगाडि बढाउँछ भन्ने अपेक्षा थियो,’ उनले भने, ‘तर पोखरा पुग्दै गर्दाको उत्साह बन्दसत्र चल्दै गर्दा सकियो ।’

समूहगत छलफलको निष्कर्ष सुनाउँदै नेताहरूले अधिकांश कार्यकर्ता अहिलेको संसद्वादी निर्वाचनको विपक्षमा रहेकाले बहिष्कार गरी क्रान्तिको तयारीमा जुट्नुपर्ने पक्षमा रहेको बताएका थिए । उनीहरूले पार्टी संसद्वादी दिशामा अगाडि बढेको भन्दै त्यसको विरोध गरेका थिए ।

उनीहरूले निर्वाचन उपयोगको कुरा जायज भए पनि अहिले त्यो अवस्था नरहेकाले निर्वाचन बहिष्कार गरी क्रान्तिकारी ध्रुवीकरणसहित संघर्षलाई नयाँ उचाइमा उठाउनुपर्नेमा जोड दिएका थिए । निर्वाचनमा सहभागी भएको अवस्थामा पनि शीर्ष नेताहरू प्रत्यक्ष निर्वाचनमा जानुपर्ने प्रतिनिधिहरूको सुझाव थियो ।

४ नम्बर समूहका नेता हस्तबहादुर केसीले अहिलेको अवस्थामा निर्वाचनमा सहभागी हुनुको कुनै अर्थ नरहेको र निर्वाचनमा सहभागी हुँदा प्रतिगामी संविधान कार्यान्वयनमा सघाएको देखिने भएकाले निर्वाचन ध्वस्त बनाएर नयाँ जनवादी क्रान्तिको थालनी गर्नुपर्नेमा जोड दिए ।

पार्टी अध्यक्ष मोहन वैद्यको मूल राजनीति प्रस्ताव र नेकपा एकीकृतबाट एकतामा आएका रामसिंह श्रीस र सीताराम तामाङले राखेको ‘माओवाद’ पदावली प्रयोगबारेको फरक मत एवं रामसिंह श्रीसको ‘जनयुद्धको सिंहावलोकन’माथिको फरक मतमाथि समूहगत छलफलका लागि नौवटा समूह बनाइएको थियो । सबै समूहका नेताहरूले छलफलको निष्कर्ष सुनाउँदै ‘माओवाद’ मानेर जानुपर्ने र जनयुद्धको सम्मान गरिनुपर्ने धारणा राखेका थिए ।

यसैबीच सम्मेलनले मोहन वैद्यलाई महासचिवमा चयन गरेको थियो । सम्मेलनले अगाडि अध्यक्षात्मक प्रणालीमा रहेको पार्टीलाई सम्मेलनदेखि महासचिव प्रणालीमा लैजाने निर्णयसहित वैद्यलाई महासचिवमा चयन गरेको हो । सम्मेलनले चयन गरेको ९९ सदस्यीय केन्द्रीय समितिमा ७७ पूर्ण र १८ वैकल्पिक केन्द्रीय सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij