एजेन्सी । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल आगामी बर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएको छ । युरोपियन क्षेत्रको छनोट अन्तर्गत मंगलबार राति समूह चरणको अन्तिम खेलमा स्विजरल्याण्डलाई २–० ले पराजित गर्दै पोर्चुगल समूह बी बाट विश्वकपमा छनोट भएको हो ।
घरेलु मैदानमा युरोपियन च्याम्पियन पोर्चुगलको जितमा भ्यालेन्टे सिल्भाले एक गोल गरे । पोर्चुगलले एक गोल आत्मघाती उपहार पाएको थियो । स्विजरल्याण्डका डिजोउरोउले आत्मघाती गोल गरे ।
विश्वकप छनोटको लागि निर्णायक खेलको ४१ औं मिनेटमा डिजोउरोउको आत्मघाती गोलबाट पोर्चुगलले सुरुवाती अग्रता बनाएको थियो । लिस्बोनमा पहिलो हाफमा १ – ० ले अग्रता बनाएको पोर्चुगलले दोस्रो हाफमा थप एक गोल गर्यो । खेलको ५७ औं मिनेटमा सिल्भाले गोल गर्दै पोर्चुगलको रुस यात्रा पक्का गरेका थिए ।
स्विजरल्याण्डविरुद्ध कप्तानी गरेका स्टार स्ट्राइकर रोनाल्डोले भने गोल गर्न सकेनन ।
जितसँगै पोर्चुगलले १० खेलबाट २७ अंक जोड्न सफल भयो । समान अंक भएपनि स्विजरल्याण्ड पोर्चुगलसँग गोल अन्तरमा पछि पर्यो । पोर्चुगलसंगको हारले स्विजरल्याण्ड भने विश्वकप छनोटको प्ले अफमा धकेलिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij