एजेन्सी । पाहुना टोली अष्ट्रेलियाविरुद्धको दोस्रो टि – ट्वान्टी क्रिकेटमा भारत पराजित भएको छ । गुवाहाटीमा मंगलबार राती भएको दोस्रो खेलमा अष्ट्रेलियाले भारतलाई ८ विकेटले पराजित गरेको हो ।
भारतले दिएको ११९ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले १५ ओभर ३ बलमा २ विकेट गुमाएर पुरा गर्यो । जितसँगै अष्ट्रेलियाले ३ खेलको टि ट्वान्टी सिरिजमा १ – १ को बराबरी गरेको छ । वर्षाले प्रभावित पहिलो खेलमा भारतले अष्ट्रेलियालाई डकवर्थ लुईस नियम (डिएल) का आधारमा ९ विकेटले पराजित गरेको थियो । अब सिरिजको निर्णय अन्तिम खेलबाट तय हुने छ । यसअघि पाहुना टोलिबिरुद्ध भारतले टेष्ट सिरिज र एक दिवसीय सिरिज समेत जितेको थियो ।
अष्ट्रेलियाको जितमा मोइसिस हेनरिक र टिम हेडले १०९ रनको शतकीय साझेदारी गरे । अर्धशतकीय पारी खेलेका हेनरिकले अविजित रहदै ४६ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ६२ रन बनाए । यस्तै हेडले अविजित ४८ रन बनाए । त्यसअघि कप्तान डेभिड वार्नर २ तथा आरोन फिन्च ८ रनमा आउट भए । भारतका भुवनेश्वर कुमार र जस्प्रित बुम्ह्राले समान १ – १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारत २० ओभरमा अलआउट हुदै ११८ रनमा समेटिएको थियो । अष्ट्रेलियाका बलर हाबी भएपछि भारतीय ब्याट्सम्यानहरु खुलेर खेल्न सकेनन । भारतका लागि केदार जादाबले २७, हार्दिक पाण्डयले २५ तथा कुलदिप यादवले १६ रन जोडे । कप्तान विराट कोहली शुन्य रनमा आउट भएको खेलमा भारतका ७ खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । अष्ट्रेलियाका जासोन बेह्रेडओर्फले ४ तथा एडम जाम्पाले २ विकेट लिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij