२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

बढी पारिश्रमिक दिएर कर्मचारी नियुक्त नगर्न समितिको आग्रह

बढी पारिश्रमिक दिएर कर्मचारी नियुक्त नगर्न समितिको आग्रह

काठमाडौ । बजारमा नयाँ बिमा कम्पनीहरू भित्रिएसँगै कर्मचारीहरू तानातान गर्ने प्रवृत्ति पनि बढ्दै गएको छ । त्यति मात्रै हैन पुराना कम्पनीका कर्मचारीले नयाँ कम्पनीमा जाँदा असीमित पारिश्रमिकको मागसमेत गर्ने गरेको पाइएको छ ।

अनुभवी दक्ष जनशक्ति नभएको बजारमा दोब्बर पारिश्रमिक भुक्तान गरेर भए पनि कर्मचारी नियुक्त गर्न नयाँ कम्पनीहरू बाध्य छन् । तर, यसले बिमा क्षेत्रमा विकृति भित्रयाउने बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए । आइतबार ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै समितिका अध्यक्ष चापागाईंले बिमा क्षेत्रमा देखिएको यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न नयाँ कम्पनीहरूलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै समितिका अध्यक्ष चापागाईंले यस विषयमा समितिले अध्ययन सुरु गरेको बताए । “अध्ययनले कम्पनीहरूमा यस्तो खालको गतिविधि भएको देखाएमा राष्ट्र बैंकले जस्तै निश्चित मापदण्ड तोकिनेछ,” उनले भने । अनुभवी कर्मचारीलाई बढी भुक्तान गर्नुभन्दा बेरोजगार युवाहरूलाई नै प्रशिक्षण दिएर काम गर्न उनले सुझाव दिए । “बजारमा थुप्रै दक्ष जनशक्ति छन् जसलाई अवसरको खाँचो छ । तिनै जनशक्तिलाई केही समय तालिम दिएर काम गर्नुपर्छ,” उनले भने ।

कार्यक्रममा कम्पनीका अध्यक्ष पशुपति मुरारकले नेपालको बिमा क्षेत्रको ठूलो सम्भावना भएको बताउँदै कम्पनीले समितिका निती निर्देशनभित्र रहेर काम गर्ने बताए । एनआईसी एसिया बैंकसहित कम्पनीमा ४२ जना प्रबद्र्धक छन् । कम्पनीको अधिकृत पुँजी ३ अर्ब छ । त्यस्तै जारी पुँजी २ अर्ब २० करोड छ । हाल संस्थापकबाट ७० प्रतिशत हुने रकम १ अर्ब ५४ करोड रुपैयाँ पुँजी कायम गरिएको छ । निकट भविष्यमा नै कम्पनीले ६६ करोड साधारण सेयर जारी गर्ने भएको छ ।

कम्पनीले उपत्यका भित्र ज्ञानेश्वर, गोगंबु, जोरपाटी, कीर्तिपुर, पुल्चोक र सूर्यविनायक तथा उपत्यका बाहिर नायारणगढ, वीरगन्ज, पोखरा र चन्द्रनिगाहपुरबाट सेवा सुरु गरेको छ । कम्पनीले हाल ३ वटा जीवन बिमा योजना जारी गरी सेवा सुरु गरेको छ । केही दिनमा थप २ वटा बिमा योजना जारी गर्ने तयारी समेत गरेको छ । आगामी दिनमा देशमा सातवटै प्रदेशमा क्षेत्रीय कार्यलय स्थापना गरी दुर्गम भागमा समेत सेवा विस्तार गर्ने योजना बनाएको छ ।

गत वैशाख १४ गते कम्पनी रजिष्ट्रार कार्यलयमा दर्ता भएको ज्योति लाइफले असार २० गते समितिबाट सञ्चालन इजाजतपत्र पाएको थियो । त्यस्तै, कम्पनीले भदौ १९ गते कारोबारको अन्तिम स्वीकृति लिएको थियो । कम्पनीको रजिष्टर्ड कार्यालय पोखरा कास्कीमा रहने छ भने प्रधान कार्यालय शान्ता प्लाजा ज्ञानेश्वरमा रहने भएको छ । कम्पनीको सञ्चालक सदस्यमा नन्दकिशोर शर्मा, आकाश गोल्छा र शर्मिला महर्जन छन् । त्यस्तै, कार्यकारी उप–प्रमुखमा प्रकाश विक्रम खत्री नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij