
काठमाडौं । सामान्यतया असोज पहिलो साता (२३ सेप्टेम्बर) सम्म मात्र रहने मनसुन केही वर्ष यता लम्बिदै आएको छ । यो वर्ष पनि केही दिन मनसुन लम्बिने संकेत देखिएको मौसमविद्ले बताएका छन् ।
‘पानी पर्ने मौसमी प्रणाली बाँकी नै भएकाले मनसुन लम्बिने देखिन्छ,’ जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूती पोखरेलले कान्तिपुरसित भनिन्, ‘दसैंसम्मै मनसुनी वर्षा हुन सक्छ ।’ गत वर्ष पनि औसतभन्दा केही पछि मनसुन सकिएको थियो ।
पानी पार्ने प्रणाली पाकिस्तानबाट हट्दै पूर्वतिर आउनु पर्नेमा त्यसो हुन नसकेको पोखरेलले बताइन् । ‘पश्चिमी वायुले पूर्वी वायुलाई धकेल्दै जानुपर्ने हो त्यो हुन सकेको छैन,’ उनले भनिन्, ‘त्यही भएर केही दिन वर्षाको संभावना छ ।’ मनसुन सकिनका लागि पश्चिमी वायु बलियो हुनुपर्छ । पूर्वी वायु सक्रिय हुनु भनेको मनसुन सक्रिय हुनु हो ।
दुई दिन यता मनसुन सक्रिय भएर देशैभर वर्षाए भएको महाशाखाले उल्लेख गरेको छ । बिहीबार पनि पूर्व र मध्यका भागमा बेलुकीपख वर्षा हुने पोखरेलले बताइन् । ‘मौसमी प्रणाली पूर्वबाट पश्चिमतिर मुभ हुँदैछ,’ उनले थपिन्, ‘पूर्व र मध्यमा भोलीदेखि केही सुधार आए पनि पश्चिमक्षेत्रमा वर्षा हुनेछ ।’
महाशाखाको तथ्यांक अनुसार बुधवारदेखि विहीवार विहानसम्म सबैभन्दा बढी दिपायलमा (४३ मिमि) वर्षा भएको छ । ताप्लेजुङ, धनकुटा, विराटनगर, सिमरा, भैरहवालगायतका स्थानमा पनि वर्षा भएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij