korea
काठमाडौं । म्यान्मारमा जारी हिंसा र पलायनबीच के अब म्यान्मारमाथि पनि संयुक्त राष्ट्र संघका तर्फबाट उत्तर कोरियामाथि लगाइएजस्तै प्रतिबन्ध लाग्ला त भन्ने प्रश्न बहसमा आएको छ । संयुक्त राष्ट्र संघका मानवाधिकार प्रमुख जीद राद अल हुसैनले यस्तो माग गरेको बीबीसीले जनाएको छ । उनले म्यान्मारमा रोहिंग्या मुसलमानहरूमाथि भैरहेको अमानवीय व्यवहारका लागि म्यान्मार सरकार जिम्मेवार रहेको बताउँदै उसमाथि प्रतिबन्ध लगाउनुपर्ने विषयमा सोच्नुपर्ने माग गरेका छन् ।
बीबीसीसँग कुरा गर्दै संयुक्त राष्ट्र संघका मानवाधिकार प्रमुख हुसेनले रोहिंग्या चरमपन्थीहरूमाथि लगाइएको हिंस्रक गतिविधिको आरोपलाई एउटा बहाना मात्र हो भनेका छन् । उनले भनेका छन्, ‘‘विगत ५५ वर्षदेखि एउटा समुदायविरुद्ध लगातार हिंसा भैरहेको छ । उनीहरूको अधिकारलाई दबाइएको छ र आज म्यान्मारले यसैको प्रतिक्रिया झेलिरहेको छ । हामी चरमपन्थीहरूको गतिविधिलाई सही भनिरहेका छैनौं, तर यो एकखालको प्रतिक्रियास्वरूप गरिएको कारवाही हो ।’’
उनले म्यान्मार सरकारसमक्ष रोहिंग्याविरुद्ध भैरहेको अत्याचारको छानबिन गर्न विशेषज्ञहरूलाई म्यान्मार आउने अनुमति दिन समेत माग गरेका छन् ।
उता म्यान्मार सरकारले चाहिँ रखाइन प्रान्तमा जारी हिंसाका लागि रोहिंग्या चरमपन्थीहरूलाई दोषी बताउँदै आएको छ । यस हिंसाका कारण लाखौं रोहिंग्या मुसलमानहरू आफ्नो घर छोड्न बाध्य भएका छन् । रोहिंग्याहरूले म्यान्मारको सीमा पार गरेर बंगालादेशमा शरण लिइरहेका छन्, तर बंगालादेशले भने उनीहरूलाई आफ्नो देशमा शरण दिन इच्छुक देखिँदैन । बंगालादेश अन्तर्राष्ट्रिय समुदायसमक्ष यी शरणार्थीहरूलाई म्यान्मारले फिर्ता लैजानुपर्ने अपिल गरिरहेको छ र त्यसका लागि म्यान्मारमाथि दबाब बढाइरहेको छ । बंगालादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले हालै संयुक्त राष्ट्र संघको महासभामा समेत यो कुरा उठाएकी थिइन् ।
म्यान्मारमा भएको रोहिंग्या मुसलमानहरूमाथिको हिंसाको प्रभाव नेपालसम्मै आइपुगेको छ । नेपालमा यसअघि शरणार्थीका रूपमा बस्दै आएका रोहिंग्या मुसलमानहरूको संख्या म्यान्मारमा जारी तनावसँगै बढिरहेको समाचार सञ्चार माध्यममा आउन थालेका छन् । यसको अर्थ हो, हिंसासँगै म्यान्मारका रोहिंग्याहरू नेपालमा समेत आइपुगेका छन् ।
संयुक्त राष्ट्र संघले हालै मात्र म्यान्मारकी स्टेट काउन्सिलर एवं नोबेल शान्ति पुरस्कार विजेता आङ साङ सुकीका लागि रोहिंग्याहरूमाथि भैरहेको आक्रामक कारवाही रोक्ने यो आखिरी अवसर भएको बताएको थियो । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बीबीसीसँग भनेका थिए, यदि अब पनि सुकीले केही गरिनन् भने यो त्रासदी निकै विकराल हुनेछ । स्मरणीय छ, सुकीले संयुक्त राष्ट्र संघको हालै सम्पन्न महासभामा समेत भाग लिइनन् ।
पछिल्ला दिनमा म्यान्मारमा हिंसात्मक तनाव बढेपछि र विशेषगरी सरकारी सेनाले रोहिंग्या विद्रोहीमाथि अमानवीय व्यवहार गरेको समाचार व्यापक भएपछि अन्तर्राष्ट्रिय जगत्मा सुकीको निकै आलोचना भैरहेको छ । नोबेल शान्ति पुरस्कार विजेता सुकीले आफ्नो देशका सैन्य शासकहरूको क्रूरताविरुद्ध केही नबोलेकी मात्र होइनन्, त्यसलाई ढाकछोप गर्ने प्रयास गरेको अन्तर्राष्ट्रिय मानवअधिकारकर्मीहरूको आरोप छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij