
लामो समय कोरियामा बसेर नेपालमा फर्के पश्चात् २०६५ मा नेपालगञ्जमा सानो स्केलमा मासु व्यवसाय शुरु गरेका दीपेन्द्र कुमार जोसी हाल मासु व्यवसायलाई व्यावसायिक रुपमा अघी बढाउनुपर्छ भन्ने मान्यता बमोजिम व्यवसाय विस्तार गरिरहेका छन् । हाल मासु व्यवसाय तथा कोल्ड स्टोरको क्षेत्रमा काम गरेका उनी नेपालगञ्जका किसानहरुसँगको सहकार्यमा मासु सङ्कलनको काम गरिरहेका छन् । आगामी दिनमा किसानहरुसँग अझ नजिक रहेर काम गर्ने सोचमा उनी छन् ।
विदेशबाट नेपालमा फर्कदा आर्थिक पक्षको अलावा सीप र आफ्नै देशमा परिश्रम गर्नुपर्ने मानसिकता बोकेर नेपालमा फर्केका जोसी नेपाल फर्केपश्चात् करिब ३ लाख रकमको लगानीमा उनले मासु व्यवसाय सञ्चालन गरे । अहिले जोसीले मासु व्यवसायमा करिब करिब ३ करोड रकमको लगानी गरेका छन् । साथै बाँकेको नेपालगञ्जबाट शुरु गरेको मासु प्रशोधन केन्द्रबाट उत्पादित गुणस्तरीय मासु काठमाडौं सम्म ल्याई विक्री गर्न पनि सफल छन् जोसी ।

नेपालमा काम गर्नको निम्ति उद्यमशिल सोच हुने हो भने कुनै अवसर नै छैनन् भन्ने नेपालीहरुको निम्ति उदाहरणीय बनेका छन् जोसी । नेपालमा नै प्रयाप्त काम गर्न सकिँदो रहेछ भन्ने देखाउन उनी सफल छन् । हाल उनको उद्योगमा करिब ७ जना व्यक्तिहरु प्रत्यक्ष रुपमा श्रममा जोडिएका छन् ।
शुरुमा नेपालमा आफूले नै प्रविधि भित्र्याएर मासुको क्षेत्रमा काम गरेका जोसीका शुरुका दिन केही चुनौतीपूर्ण त अवश्य पनि थिए । परिवार र समाज प्रतिको दृष्टिकोण पनि सकारात्मक थिएन । आफूले मासु व्यवसाय सञ्चालन गरेको १० बर्ष भइसक्दा पनि आफ्नो व्यवसायस्थलमा बुबा अहिले सम्म पनि नपुगेको र आफू प्रतिको दृष्टिकोण बदल्न नसकेको समेत दीपेन्द्र जोसी आफैं बताउँछन् । यसले अहिले पनि समग्र नेपाली समाज र श्रम प्रतिको दृष्टिकोण कस्तो छ भन्ने देखाउन प्रतिनिधिमूलक घटनाको रुपमा प्रयाप्त हुन सक्छ ।
नेपालमा अहिलेको अवस्थामा पनि अधिकांश नेपालीहरु कामको निम्ति भरपर्दो माध्यमको रुपमा विदेशलाई नै लिने गरेका छन् । तर नेपालमा नै रहेर पनि प्रयाप्त काम गर्न सकिन्छ भन्ने बारे कतिपयलाई ज्ञान नै छैन भने कतिपयलाई नेपालमा पाएको भन्दा राम्रो तलब सुविधा पाउने वित्तिकै विदेशिने नेपालीहरु पनि थुप्रै छन् । यसकारण नेपालमा श्रममूलक काममा जनशक्ति पाउन निकै गाह्रो छ ।
अहिले जोसीले सञ्चालन गरेको मासु प्रशोधन केन्द्रमा काम गर्ने ड्राइभरले समेत मासिक करिब २५ हजार रुपियाँ कमाउन सक्ने अवस्था छ । अन्य व्यक्तिहरुले पनि तुलनात्मक रुपमा राम्रै कमाउन सक्ने अवस्था छ । तर नेपालीहरु नेपालमा रहेर श्रम गर्न हिच्किचाउने अवस्था भने अन्त्य हुन सकेको छैन । श्रमलाई सम्मान गर्ने प्रचलन नेपालमा विकास नभएको कारण यो अवस्था आएको जोसीको दृष्टिकोण छ ।
मासु उत्पादनको क्रममा उत्पादित मासुलाई कसरी उच्च गुणस्तरीय बनाउन सकिन्छ भन्ने सम्बन्धमा जोसीले विशेष जोड दिँदै आएका छन् । यसैकारण भर्खरै मात्र एग्रो टाइम्स मिडियाबाट उनी उत्कृष्ट उद्यमीको रुपमा सम्मानित समेत भएका छन् ।
मासुको रगतमा मानिसलाई हानी गर्ने विभिन्न किसिमका जिवाणुहरु रहेका हुन्छन् । ती जीवाणुहरुलाई कसरी नष्ट गर्ने भन्नेमा विशेष चलाख हुनु जरुरी रहन्छ । मासु शुद्ध गर्नको निम्ति मासुमा हुने सम्पूर्ण रगत मासुबाट अलग गर्नुपर्ने हुन्छ । तर नेपालमा परम्परागत रुपमा मासु काट्ने क्रममा भने यस्तो परम्परा छैन । जोशी भन्छन्, ‘रगतको माध्यमबाट नै अधिकांश रोगहरु मानिसमा सर्ने सम्भावना हुन्छ भन्ने कुरा हामीले उपभोक्तालाई बुझाउनु जरुरी रहन्छ ।
मासु खाने क्रममा छाला पनि खाने कार्यलाई अन्तराष्ट्रिय मापदण्डले ब्रजित गरेको छ । तर अहिले सम्म नेपालमा भने छालालाई छोडेर मासु मात्र खाने प्रचलन विकास भएको छैन । नेपालमा बिना छालाको मासु ग्राह
कको रोजाइमा समेत पर्ने अवस्था नआएको जोशीको अनुभव छ ।
अहिले नेपालगञ्जमा दीपेन्द्र जोशीले सञ्चालन गरेको मासु प्रशोधन केन्द्रले दैनिक करिब १५–१६ ओटा खसी तथा बंगुर प्रशोधनको क्षमता राख्ने भएपनि आफ्नो क्षमता बमोजिम भने काम हुन नसकेको जोसी बताउँछन् ।
मासु व्यवसायलाई व्यवस्थित बनाउनको निम्ति उनी आफैंले शुरु गरेको स्लटर हाउस नै नेपालमा सम्भवतः पहिलो पटक व्यवस्थित रुपमा मासु शुरुवात भएको मासु प्रशोधन केन्द्र भएको हुन सक्ने उनी अनुमान गर्छन् । यद्यपि व्यवस्थित तवरले काम गर्नुपर्छ भन्ने मान्यताले अघी बढ्ने क्रममा शुरुवातका दिनहरुमा प्रतिष्पर्धी बजारको कारण आफ्ना योजनाहरु अघी बढाउन केही गाह्रो नभएको भने होइन । अहिले सम्म आइपुग्दा भने बजारमा निश्चित व्यवस्थित प्रणाली विकास भइसकेको छ । यसमा जोशी सन्तुष्टि व्यक्त गर्छन् ।

दैनिक आवश्यकता बनेको मासु क्षेत्र आफैंमा उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएको कारण यस क्षेत्रलाई व्यवस्थित बनाउनको निम्ति राज्य र उपभोक्ता दुवै सचेत र जागरुक हुनुपर्ने कुरामा जोसी जोड दिन्छन् । तर अहिले पनि मासु उत्पादन तथा प्रशोधन कार्य नेपालमा व्यवस्थित बन्न सकेको छैन । यस्ता प्रशोधन केन्द्रहरु व्यवस्थित गर्नको निम्ति राज्यले नै उपयुक्त कदम चाल्नुपर्ने अवस्था छ ।
अहिले अव्यवस्थित रुपमा मासु प्रशोधनको क्रममा जोशी लगायतका व्यवसायीहरुले नेपालमा मासु प्रशोधनको क्रममा नयाँ प्रविधि भित्र्याएका छन् । खसी वा वंगुर मार्ने क्रममा पनि ती जनावरलाई दुःख नहुने गरी पहिले वेहोस बनाएर मात्र जनावर मार्ने काम जोसीले गर्दैै आएका छन् । व्यवस्थित मासु प्रशोधनको निम्ति उनले निकै ठूलो रकम लगानी गरेका छन् ।
जोशी भन्छन्, नेपालमा परम्परागत रुपमा जुन तवरले मासु प्रशोधनको काम हुँदै आएको छ, त्यो प्रचलन परिमार्जन गर्नु आवश्यक छ । तर यो काम एक–दुई जना व्यक्तिहरुको मात्र पहल कदमीमा भने सम्भव नहुने उनी बताउँछन् । उपभोक्ताको स्वास्थ्य प्रति राज्य सजग रहने हो भने राज्यले यस प्रति विशेष सतर्क रहनुपर्ने जोशीको धारणा छ ।
नेपालमा अहिले सम्म मासुलाई व्यवस्थित तवरले विक्री गर्ने उद्धेश्यले स्थापित स्लटरहाउस कम्पनीहरु खासै सञ्चालनमा आएका पाईंदैनन् । साथै नेपालमा अहिले ठूलो स्केलमा मासु काटेर प्रशोधन गर्ने कम्पनीहरु स्थापना समेत हुन सकेका छैनन् । केही विदेशी लगानीका कम्पनीहरुले तराईका हेटौंडा, वर्दिया, इटहरी, विराटनगर लगायतमा मासु प्रशोधन केन्द्र स्थापना गरेका भएपनि ती क्षेत्रहरुमा स्थापना भएका कम्पनीहरुले उत्पादन तथा प्रशोधन गर्ने मासु अधिकांश विदेश नै जाने गरेको छ ।
र्ता प्रक्रिया समेत झण्झटिलो ःअहिले सम्म नेपालमा स्लटर हाउस दर्ताको निम्ति आवश्यक प्रक्रिया समेत निकै नै झण्झटिलो छ । त्यसैकारण स्लटर हाउसको रुपमा कम्पनी स्थापना गर्ने चाहना हुँदाहुँदै पनि स्लटरहाउसको रुपमा स्थापना गर्न सकिने अवस्था समेत छैन ।
काठमाडौंका उपभोक्ताहरुलाई सहज ,सुलभ र स्वस्थ मासु खाने वातावरण बन्न सकोस् भन्ने मान्यताले आफूले उत्पादन गरेको मासु व्यवसायलाई अहिले काठमाडौंमा विस्तार गरेका जोशी आगामी ३-४ बर्षमा काठमाडौंमा ठूलो स्केलमा मासु विक्रीको वातावरण बनाउने कार्यमा खटिएर लागेका छन् ।
मासु उत्पादनको निम्ति आवश्यक खसीबोका र बंगुर उत्पादन गर्ने काममा किसानहरुसँग नै सहकार्य गर्नुपर्ने आवश्यकता रहन्छ । तर अहिलेको अवस्थामा किसानहरुले उत्पादन गर्ने खसीबोका निकै कम मात्रामा मात्र छन् । यसको एउटा कारण भनेको बजारको ग्यारेन्टी हुन नसक्नु हो भने अर्को भनेको काम गर्ने दक्ष जनशक्तिको अभाव पनि हो । यस्तो अवस्थामा किसानहरुलाई आवश्यक प्राविधिक सहयोग तथा बजारीकरणको ग्यारेन्टी हुने हो भने किसानहरुसँग सहकार्य गरी मासु उत्पादन बढाउन सकिनेमा जोसी विश्वस्त छन् । यसको निम्ति कृषि तथा पशु बीमाको बारेमा समेत किसानलाई जागरुक बनाउनु जरुरी रहन्छ ।
बंगुर वा खसीबोका पाल्दा त्यसको आयु तथा प्रयोगमा ल्याइएको दानापानीले पनि मासुको गुणस्तर र ग्राहकको रुचिमा प्रभाव पार्छ । बंगुर जति धेरै लामो समय पालिन्छ, त्यति नै त्यसमा बोसोको मात्रा बढी हुन्छ । तर बोसो किसानको रुचिमा पर्दैन । यसैकारण कतिपय किसानहरुले कति समय पाल्ने, आफूले पालेको वस्तु कहिले विक्री गर्ने, कस्तो दाना खुवाउँदा के प्रभाव पार्छ भन्ने लगायतका कुराहरुमा किसान पनि जागरुक बन्नु जरुरी रहन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij