
काठमाडौं । म्यानपावर कम्पनीको धरौटी रकम बढाएर एक करोड पुर्याउने तयारी भएपछि वैदेशिक रोजगार व्यवसायी सिंहदरबार पुगेका छन् । सरकारले वैदेशिक रोजगार ऐन, २०६४ संशोधन गर्दै धरौटी रकम बढाउन लागेपछि म्यानपावर व्यवसायी आन्दोलित भएका हुन् ।
संशोधनको अन्तिम ड्राफ्ट सोमबार श्रम तथा रोजगार मन्त्रालयले तयार गर्दैछ । सोमबार ड्राफ्ट तयार हुने खबर पाएलगतै म्यानपावर व्यवसायी धरौटी रकम नबढाउन माग गर्दै बिहानैदेखि सिंहदरबार पुगेका हुन् । अहिले मन्त्रालयका अधिकारी र वैदेशिक रोजगार व्यवसायीबीच छलफल भैरहेको छ । छलफलमा धरौटी रकम नबढाउन सरकार तयार नभए सोमबार नै म्यानपावर व्यवासायीले वैदेशिक रोजगार विभागको कार्यालय घेराउन गर्ने निर्णय गरेका छन् ।
संघका महासचिव नरेश गेलालले मन्त्रालयसँगको छलफलपछि थप आन्दोलनका कार्यक्रम तय हुने जानकारी दिनुभयो । तर श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले भने वैदेशिक रोजगारीका नाममा भएका ठगी रोक्न र म्यानपावरलाई व्यवस्थित गर्न धरौटी रकम बढाउनुको बिकल्प नभएको बताउनु भएको छ । मन्त्री मन्सुरले ऐन संशाेधन गरेर डेढ हप्ताभित्रमा वैदेशिक रोजगारलाई ट्र्याकमा ल्याउने दाबी गर्नुभयो ।
यसअघि म्यानपावर कम्पनीको घरौटी रकम नगद ७ लाख र २३ लाखको बैंक ग्यारेन्टी गरि ३० लाख रुपैयाँ राख्नु पर्ने नियम छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij