
चितवन । निर्माणाधीन नारायणघाट–मुग्लिन सडक खण्डमा दिनहुँ घण्टौ ट्राफिक जाम हुनेगर्छ । यात्रुले निकै सास्ती खेप्दै आएका छन् । चाडबाड नजिकिँदै आएकाले यो खण्डमा अझै सवारी चाप बढ्ने देखिन्छ । तर, खाल्डाखुल्डी र सम्भावित पहिरोले निकै जोखिम छ । २९ ठाउँ पहिरोको उच्चजोखिममा रहेको भूगर्वविदले औंल्याएका छन् ।
निर्माणको काम निकै सुस्त गतिमा छ । असार २३ गतेदेखि रात्रिसवारी सञ्चालनमा रोक लगाइएको छ । व्यवस्थापिका संसद् विकास समितिले असार १३ गते स्थलगत निरीक्षण गरेको थियो भने प्रधानमन्त्री शेरबहादुर देउवाले साउन १८ गते स्थलगत निरीक्षण गरेका थिए ।
स्थानीय प्रशासनले पनि पटक–पटक निरीक्षण गर्दै निर्माणको काममा गति दिन आग्रह गर्दै आएको छ । तर, काम मन्द गतिमा छ । शुक्रबार संसद् विकास समितिका सदस्य, तत्कालीन चितवन क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद, सरकारी कार्यालयका प्रमुखसहितको टोलीले सडकको निरीक्षण गरेको छ । प्रहरी स्कटिङमा पुगेको सो टोलीलाई मुग्लिङ पुग्न झण्डै ४ घण्टा लागेको थियो ।
नारायणघाट–मुग्लिङ सडक आयोजनाको कार्यालयमा आयोजित सर्वपक्षीय छलफलमा बोल्दै सांसद कृष्णभक्त पोखरेलले सडक थपिएको म्यादमा निर्माण कार्य सकिनेमा विश्वस्त नभएको बताए ।
“आयोजना र निर्माण व्यवसायीले थपिएको म्यादमा पूरा हुन्छ भन्नु स्वाभाविक हो,” उनले भने, “अबको ७ महिनामा बाँकी ४६ प्रतिशत काम पूरा होला भनेर भन्न सकिँदैन ।” उनले पहाड कटिङजस्ता प्राविधिक पक्षले निर्माणमा ढिलाइ भए पनि अरु सबल पक्षका बीचमा काममा तदारुकता नदिएको बताए । “सडकमा निर्माणमा पर्याप्त कर्मचारी खटिएको देखिदैन,” उनले भने, “भरोसा लाग्दो ढंगले काम भएको देख्नै पाइएको छैन ।”
उनले नजिकिँदै गरेका चाडपर्वमा यो खण्ड बढीमा साढे दुई घण्टामा पार गर्न सक्ने अवस्था सिर्जना गर्नुपर्ने बताए । “यो बाटो लाइफलाइन हो, यही बाटो भएर चाडपर्वमा थाकथलो पुग्नुपर्ने अवस्था छ,” उनले भने, “कालोपत्रे गर्न नसकिए पनि खाल्डाखुल्डी मर्मत गर्नुपर्छ ।”
सांसद विकास समितिका सदस्य सांसद रामकृष्ण घिमिरेले पछिल्ला दुई महिनामा भएको कामको गति अनुसार काम भए म्यादमै काम पूरा हुनेमा विश्वस्त रहेको बताए । “प्रधानमन्त्रीसँग आउँदाका बेलाभन्दा अहिले काम भएको छ, निर्माण व्यवसायीलाई धेरै निरुत्साहित नपारौं,” उनले भने, “कटिङको काम लगभग सकिएको रहेछ ।”
प्रधानमन्त्री समक्ष आयोजनाका प्रमुख चन्द्रनारायण यादवले ५३.५७ प्रतिशत काम पूरा भएको जनाएका थिए । एक महिनाको अवधिमा जम्मा ०.५ प्रतिशत काम पूरा भएको छ । हाल आयोजनाको ५४.०७ प्रतिशत काम सकिएको छ ।
कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले दसैँमा सडक सहज सुचारु होला जस्तो नलागेको बताए । “स्कटिङमा आउँदा ४ घण्टा लाग्यो,” उनले प्रश्न गरे, “सर्वसाधारणले कति घण्टामा सडक पार गर्छन्, कहिलेसम्म सडक बनिसक्छ ?” उनले थपिएको म्यादमा सडक निर्माण सकिनेमा विश्वस्त आधार दिलाउन सक्नुपर्नेमा जोड दिए ।
राप्रपा प्रजातान्त्रिकका बद्री तिमिल्सिनाले आयोजना प्रमुखले तथ्य कुरा बोल्नुपर्ने बताए । “फ्याक्ट कुरा भन्नुस्, जिम्मा लिन नसके सरुवा भएर जानुस्,” उनले भने, “सधैं अलमलमा पार्दै निर्माणमा ढिलाइ गर्नु भएन ।” माले चितवनका परशुराम लामिछानेले हतार–हतार गरेर कम गुणस्तरको निर्माण कार्य हुनसक्नेमा जोड दिए । “ग्राबेलसम्म राख्नु भएन,” उनले भने, “अब समयमै होला भन्ने आधार देखिँदैन ।”
सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले ट्राफिक व्यवस्थापन नहँुदा निर्माणमा सहजता नआएको बताए । “फागुनसम्म म्याद थप भए पनि चैतभित्र पूरै काम सकिने लक्ष्य छ,” उनले भने, “स्ट्रक्चरको लगभग काम पूरा छ, कालोपत्रे गर्ने काम बढी छ, मेसिनले गर्ने काम बढी भएकाले लक्ष्यमा पुग्न समस्या हँदैन ।” उनका अनुसार आयोजनाको ४८ प्रतिशत वित्तीय प्रगति भएको बताए भने ५४.०७ प्रतिशत निर्माण कार्य सकिएको छ ।
“धेरै खर्च लाग्ने काम अब हुन्छ, कामको स्पिड पनि बढ्छ,” उनले भने, “म्यादभित्रै काम पूरा गर्न हामी प्रतिबद्ध छौं, निगरानी गरेका छौं ।” चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले राति मालबाहक ट्रक सञ्चालनको तयारी भइरहेको बताए ।
“दिनभर निकै जाम हुने गरेको छ, अब हामी विकल्प सोच्दैछौं,” उनले भने, “मनसुन रोकिएपछि दिनभर यात्रुबाहक बस चलाउने, राति मालबाहक ट्रक चलाउने तयारीमा छौं, जसले जाम कम गर्छ ।”
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij