२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

राजपा सहभागी हुने भएपछि प्रदेश-२ मा तात्यो चुनावी माहोल

राजपा सहभागी हुने भएपछि प्रदेश-२ मा तात्यो चुनावी माहोल

वीरगन्ज । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) चुनावमा सहभागी हुने भएपछि प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीय तहको निर्वाचनको माहोल तातेको छ। तेश्रो चरणमा हुन लागेको स्थानीय तह निर्वाचनलाई आफनो पक्षमा पार्नका लागि राजनीतिक दल प्रदेश नम्बर २ मा केन्द्रित भइसकेका छन्।

प्रदेश नम्बर २ मा पर्ने सप्तरीदेखि पर्सासम्मका आठ जिल्लामा कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल , राजपालगायतका दलका केन्द्रीय नेताहरु जिल्लाजिल्लामा खटिएका छन्। पहिलो र दोश्रो चरणको निर्वाचनमा एमाले भन्दा ५० तहमा कम जित हात पारेर दोश्रो स्थानमा खुम्चिएको कांग्रेसले प्रदेश नम्बर २ को निर्वाचनलाई भने जीवन मरणकै सवाल बनाएको छ।

यसअघि सम्पन्न भइसकेका दुई चरणका निर्वाचनमा एमाले भन्दा ५० सिटले पछि परेर दोश्रो स्थानमा झरेको कांग्रेस, प्रदेश नम्बर २ मा अब कम्तीमा पनि एक सय पाँच स्थान जितेर फेरि पहिलो पार्टीका रुपमा स्थापित हुने दाउमा छ।
त्यसका लागि कांग्रेसले काठमाडौं र जनकपुरमा गरी दुई पटक प्रदेश नम्बर २ स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न गरिसकेको छ। यस्तै आठै जिल्लाका प्रमुख आठ शहरमा कांग्रेसले चुनावी सभाको आयोजना गर्ने निर्णय पनि गरिसकेको छ। आठ वटै सभालाई पार्टीका शीर्ष नेताले सम्बोधन गर्ने तय भएको कांग्रेस केन्द्रीय सदस्य समेत रहेका श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले बताए।

कांग्रेसले भदौ १५ भित्र आठ वटै जिल्लाका उम्मेदवारको औपचारिक घोषणा गर्ने तयारी गरिरहेको भन्दै उनले भने, ‘अधिकांश तहमा उम्म्मेदवारको टुङगो लागि सकेको छ, केही स्थानमा आकांक्षी धेरै भएकाले मिलाउने प्रयास जारी रहेकाले भदौ १५ सम्म सबै उम्मेदवारको घोषणा हुने बताइएको छ।

कांग्रेस प्रदेश नम्बर २ का सबै एक सय ३६ तहमै अगाडि रहेको भन्दै केन्द्रीय सदस्य मन्सुरले प्रदेश नम्बर २ मा कांग्रेसले एक सय पाँच भन्दा बढी तहमा जित हात पार्ने दाबी गरे। प्रदेश नम्बर २ को चुनाव कांग्रेसको प्रतिष्ठासँग जोडिएको छ, केन्द्रीय सदस्य मन्सुरले भने, ‘प्रत्येक नगरका वडा र गाउँ गाँउमा कांग्रेसको पक्षमा जनमत बनाउन हाम्रा नेता कार्यकर्ता खटिसकेका छन्।’

प्रदेश नम्बर २ लाई आफ्नो सबै भन्दा मजबुत पकड क्षेत्र मान्दै आएको फोरम नेपालले पनि स्थानीय तह निर्वाचनका लागि आफनो चुनावी गतिविधि तिब्र पारिसकेको छ। फोरम नेपालले प्राय सबै तहमा मुख्य पदका उम्मेदवारको टुंगो लगाई सकेको छ। केही तहमा आकांक्षीहरु धेरै भएका कारण जिल्ला स्तरमै छलपफल गरेर टुङग्याउने प्रयास भइरहेको र भदौ दोश्रो साता भित्रै उम्मेदवारहरुको अन्तिम सूची सार्वजनिक गरिने फोरम नेपालका मधेस प्रदेश सचिव सलाउदीन अहमदले बताए।

उनका अनुसार फोरम नेपाले पनि प्रदेश नम्बर २ मा कम्तीमा पनि ६५ सिट जित्ने रणनीति बनाएको छ। आठ वटै जिल्लामा फोरम नेपाल चुनावी तयारीमा जोडतोडका साथ लागि सकेको भन्दै फोरम नेपालका मधेस प्रदेश समतिका अर्का सचिव शेषनारायण यादवले मधेसमा फोरम नेपालको पक्षमा जनलहर दिन प्रति दिन बढ्दै गएको जिकिर गरे।

प्रदेश नम्बर २ मा अरु दल भन्दा बढी नै सिट हामीले जित्छौँ, यादवले भने, ‘मधेसका हक अधिकारका लागि संघर्ष गर्ने पहिलो दल नै फोरम नेपाल हो, त्यसैले मधेसमा हाम्रो जनमत अरु भन्दा बढी छ, सबै भन्दा बढी सिट हामी नै जित्छौ।’ भदौ ७ गते मात्र चुनावमा भाग लिने औपचारिक निर्णय गरेको राजपा पनि चुनावी तयारीमा होमिसकेको छ। प्रदेश नम्बर २ मा बलियो जनाधार मानिएको राजपाले उम्मेदवार छनोटका लागि आठ वटै जिल्लामा भदौ ९ गते देखि केन्द्रीय पर्यवेक्षक खटाएको छ।

केन्द्रबाट खटिएका पर्यवेक्षकले एक दुई दिन मै काठमाडौं फर्किएर आफ्नो प्रतिवेदन बुझाएपछि पार्टीले भदौ १५ सम्ममा उम्मेदवारको नाम सार्वजनिक गर्ने राजपाका महासचिव मनिषकुमार सुमनले बताए। सात गते मात्रै हामीले चुनावमा भाग लिने निर्णय गरेका हौँ, त्यसैले चुनावी तयारीको चटारो एकदमै छ हामीलाई, उनले भने ,‘अहिले घोषणा पत्रको मस्यौदा तयार पार्ने काम पनि भइरहेको छ। आसन्न चुनावमा सबै भन्दा बढी स्थानीय तह जितेर राजपा प्रदेश नम्बर २ को सबै भन्दा ठूलो दल बन्ने दाबी उनले गरे।

प्रदेश नम्बर २ को निर्वाचनका लागि नेकपा एमाले पनि जोडतोडका लागिसकेको छ। ६० देखि ६५ सिट जित्ने दाबी एमाले छ। चुनावका लागि आठ वटै जिल्लामा एमालेले केन्द्रीय नेतालाई खटाइसकेको छ। ‘हाम्रो लक्ष्य भनेको कम्तीमा पनि ६० देखि ६५ सिट जित्ने हो, एमालेको प्रदेश नम्बर २ का सहसंयोजक एंव सांसद नागेन्द्र चौधरीले भने,‘यसका लागि पार्टीले विशेष रणनीति बनाएर काम गरिरहेको छ।’

एमाले विरोधी केही तत्वले एमालेलाई मधेस विरोधी दल भनेर भ्रम फैलाएको भएपनि मधेसका जनता उक्त भ्रममा नपरेको र विगतमा एमाले छाडेर गएका स्थानीय नेता कार्यकर्ता फेरि एमालेमै फर्किसकेको पर्साका एमाले युवा नेता मनोज चौधरीले दाबी गरे। ‘हिजो एमाले विरोधी केहि देशी विदेशी तत्वले मधेसको चुनावमा एमालेले उम्मेदवार नै पाउँदैन भन्ने सम्मका अफवाह फैलाएका थिए’, उनले भने, ‘तर अहिले एमालेमा उम्मेदवारका आकांक्षीहरु यति धेरै देखिएका छन् कि पार्टी नेतृत्वलाइ मिलाउनै गाह्रो भएको छ।’

आसन्न प्रदेश नम्बर २ मा नेकपा (माओवादी केन्द्र)ले पनि आफनो चुनावी तयारीलाई तिब्र पारेको छ। पहिलो र दोस्रो चरणको स्थानी तह निर्वाचनमा व्यहोरेको क्षति प्रदेश नम्बर २ बाट पूर्ति गर्ने योजना सहित ऊ अगाडि बढेको छ। त्यही रणनीति अनुसार चुनाव अवधिभर पार्टी केन्द्रीय कार्यालय समेत प्रदेश नम्बर २ बाटै सञ्चालन गर्ने निर्णय माओवादी केन्द्रले गरिसकेको छ। उसले पनि आठ वटै जिल्लामा केन्द्रीय स्तरका नेतालाई खटाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij