चितवन । तिज सुरु हुनु एक महिनाअघिदेखि तडकभडकका साथ पार्टी प्यालेस, होटलदेखि सडकसम्म कार्यक्रम गर्ने यहाँका विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्था यस वर्षको तीजमा कार्यक्रम स्थगन गरी उद्धार र राहतमा जुटेका छन् । तिज आउनै लाग्दा जिल्लाका विभिन्न ठाउँ र तराईमा बाढीबाट ठूलो जनधनको क्षति भएपछि उनीहरू संस्थागत रूपमा उद्धार र राहतमा जुटेका हुन् ।
जिल्लाका महिलासँग सम्बन्धित अधिकांश संघ संस्थाले तिजमा जुटेर नाचगान गर्ने, भोज खाने र त्यसलाई स्थानीय टेलिभिजनमा प्रसारण गर्ने गर्थे । यस वर्ष भने यस्ता गतिविधि जिल्लामा शून्य जस्तै भएको छ ।
हालै मात्र भरतपुर महानगरपालिकाको उपप्रमुखमा विजयी नेपाल महिला संघ चितवनकी अध्यक्ष पार्वती शाह गाउँदेखि वडा, नगर, क्षेत्र हुँदै जिल्लासम्मका सबै तिजका कार्यक्रम स्थगित गरी बाढीपीडितका लागि राहतमा जुट्न निर्देशन दिइएको बताइन् । अधिकांश ठाउँमा तिजका लागि आर्थिक संकलन भइसकेको, होटल र पार्टी प्यालेस बुक भइसकेको भए पनि स्थगित गरी संकलित रकम राहत वितरणमा खर्च गर्न सुरु गरिएको उनले बताइन् ।
नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघ चितवनकी अध्यक्ष सरस्वती विष्ट विपत्ति परेका बेला रमाउन नसकिने बताउँदै जे जस्तो सकिन्छ, प्रभावितलाई सहयोग गरेर यस वर्षको तिज मनाउने तयारीमा रहेको बताइन् । संघले जिल्लादेखि गाउँ तहसम्म बाढी प्रभावितलाई सहयोग गर्न आग्रह गरेको उनले उल्लेख गरिन् ।
माओवादी केन्द्रनिकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) चितवनकी अध्यक्ष संगीता भट्टराई देश रोइरहेका बेला नाचगान र भोजभतेर आवश्यक नरहेको बताइन् । जिल्लादेखि गाउँ तहसम्मका तिजका सबै कार्यक्रम स्थगित गरी तिजका लागि उठेको रकम राहतमा खर्च गर्न भनिएको उनले बताइन् ।
जिल्लामै महिला मात्रै पढाउने एक मात्र मैयादेवी कन्या क्याम्पस भरतपुरले हरेक वर्ष तिजलाई विशेष कार्यक्रमबीच मनाउने गरेको थियो । तर, यस वर्षको तिजका लागि खर्च गरिने रकम माडीका बाढी प्रभावितलाई राहत बाँडिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष टंकनाथ पौडेलले बताए । उनका अनुसार माडी बरुवाका सय घरपरिवारलाई राहत वितरण गरिएको हो ।
पत्रकारसँग सम्बन्धित विभिन्न संघ संगठनका महिला विभागले गर्ने तिज कार्यक्रम पनि यस वर्ष स्थगित भएको छ । नेपाल पत्रकार महासंघमा आबद्ध महिलाले ३२ साउनका लागि तय गरेको कार्यक्रम स्थगित गरेका छन् भने प्रेस युनियनको महिला विभागले २ भदौका लागि तय गरेको तिजको कार्यक्रम स्थगित भएको विभागकी संयोजक अनिता खनालले जानकारी दिइन् ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले तिजका कुनै तडकभडक कार्यक्रम नभएको भन्दै राहत र सहयोग कहाँ गर्ने भन्ने विषयमा विभिन्न संघसंस्थाले चासो दिइरहेको बताए । जिल्लामा रहेका आमा समूह, टोल सुधार समिति, सहकारी संस्थाले पनि तिजको कार्यक्रम स्थगित गरी कार्यक्रमको बजेट राहतमा वितरण गरेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij