२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनाव मंसिर ४ गते हुने

प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनाव मंसिर ४ गते हुने

काठमाडौं । प्रमुख तीन दल र निर्वाचन आयोगबीच प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनाव मंसिर ४ गते गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र तथा निर्वाचन आयोगबीच भएको छलफलमा प्रदेशसभा र प्रतिनिधिसभाको पहिलो चरणको चुनाव मंसिर ४ गते गर्ने सहमति भएको हो ।
पहिलो चरणमा उच्च पहाडी तथा हिमाली ३१ जिल्लामा चुनाव गर्ने प्रस्ताव गरिएको छ ।
प्रमुख निर्वाचन आयुक्त आयोधीप्रसाद यादवले चुनावका लागि सरकारले भदौ ३ गतेभित्र मिति घोषणा गर्नुपर्ने, चुनावका लागि आवश्यक कानुन भदौ ५ गतेभित्र तथा भदौ १५ गतेभित्र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन आयोगलाई दिनुपर्ने बताउनुभएको छ । यसप्रति सबै दल सकारात्मक रहेको पनि उहाँले जानकारी दिनुभयो ।
एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले दलहरुबीच दुवै चुनाव एकैपटक गर्ने गरी महत्वपूर्ण सहमति भएको जानकारी दिँदै सरकारले केही दिनभित्रै मिति घोषण गर्ने बताउनुभयो ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभा र प्रदेशसभाको चुनावमा प्रत्यक्षतर्फ एउटै मतपत्र र समानुपातिकतर्फ पनि एउटै मतपत्र बनाउने समझदारी बनेको जानकारी दिनुभयो । मतपत्र एउटै भएपनि छाप भने २ ठाउँमा लगाउनुपर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij