
काठमाडौं । राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङले भलिबलको कैयौं अन्तर्राष्ट्रिय खेल खेलिसकेकी छन् । अन्तर्राष्ट्रिय खेल खेल्दाको भन्दा बढी उत्साह उनलाई यतिबेला जागेको छ, पहिलोपटक नेपाली चलचित्रमा अभिनेत्रीको रूपमा उनी मैदानमा उत्रिएकी छन् । त्यसैले बढी उत्साह जागेको रहेछ ।
सिपोरा अभिनेत्री रहेको चलचित्र ‘भुइँमान्छे’ शुक्रबारबाट देशव्यापी प्रदर्शनीमा आउँदै छ । यी अभिनेत्रीका साथै खेलाडी पनि हुन् । उनले दुबैलाई रमाइलो मानेकी छन् । खेल र अभिनय दुवै दर्शकका लागि भएकाले दुवै उत्तिकै रमाइलो हुने गरेको यी अभिनेत्रीको कथन छ, ‘यत्ति मात्र हो कि, खेलमा तुरुन्त प्रतिक्रिया पाइन्छ र यसमा फेस टु फेस दर्शकहरूसँग अन्तक्र्रिया हुन्छ । फिल्ममा अलि बढी समय दर्शकको प्रतिक्रियाका लागि कुर्नुपर्छ ।’
चलचित्र भुइँमान्छेको मंगलबार बेलुका काठमाडौंमा प्रिमियर सो गरियो । प्रिमियर सोमा राम्रो प्रतिक्रिया पाएपछि यी अभिनेत्री यतिबेला दंग छिन् । चलचित्र रिलिजको पूर्वसन्ध्यामा सिपोराले भनिन्, ‘म यतिबेला पूर्ण उत्साहित छु । आफूलाई मन परेको चलचित्रको एक हिस्सा हुन पाएकोमा खुसी लागेको छ ।’ चलचित्र राम्रो बनेको जिकिर गर्दै आफू २ भदौको व्यग्र प्रतीक्षामा रहेको पनि उनले बताइन् ।
भुइँमान्छेमा सिपोराले आफूभन्दा दोब्बर उमेर बढी भएका अग्रज कलाकार रमेश बुढाथोकीको नायिका भएर काम गरेकी छन् । बुढाथोकीकी नायिका हुँदाको अनुभवबारे यी अभिनेत्रीले भनिन्, ‘अग्रज कलाकार रमेश बुढाथोकीसँग काम गर्दा सुरुमा उहाँकी प्रेमिकाको रूपमा अभिनय गर्न केही अप्ठेरो लागे पनि पछि उहाँकै हौसलाले सहजै काम गरें । उहाँबाट धेरै कुरा सिक्ने मौका पनि पाएँ ।’
भुइँमान्छे सिपोराको पहिलो नेपाली चलचित्र भए पनि उनले यसअघि गुरुङ चलचित्रमा अभिनय गरिसकेकी छन् । चलचित्रसँग जोडिनुको प्रसंगबारे उनले भनिन्, ‘भलिभल खेलको दौरान घाइते भएपछि म आराम गरेको बेला खाली समयमा गुरुङ चलचित्र घलेकमा नायिका बन्ने अफर आयो । अभिनयमा रुची भएकाले घलेक र त्यसपछि अर्को चलचित्र एम्फावतीमा पनि अभिनय गरें ।’ यसपछि आफूले भुइँमान्छेमा अभिनय गरेको यी अभिनेत्रीले बताइन् ।
भुइँमान्छेमा काम गर्नुको कारण बारे सिपोराले भनिन्, ‘यसको विषयवस्तु नै सशक्त भएकाले मलाई काम गर्न मन लागेको हो । अर्को कुरा मैले रोजेअनुसारको भूमिका निर्वाह गर्न पाएकाले पनि भुइँमान्छेमा काम गरेकी हुँ ।’ आफू हक्की स्वभावकी भएको र हक्की स्वभावकी एउटी केटीको भूमिका भुइँमान्छेमा भएकाले पनि सो भूमिका मन परेको उनले खुलासा गरिन् ।
यस चलचित्रमा आफू पे्रमिलसँगै एक्सन भूमिकामा रहेको पनि सिपोराले जानकारी गराइन् । आफ्नो चरित्र उनले भर्सटाइलको रूपमा व्याख्या गरिन् । भर्सटाइल भए पनि स्वाभाविक रहेको पनि उनले बताइन् । चलचित्रमा चाँडै स्थापित हुन स्टार कलाकारसँग अभिनय गर्ने होडमा नयाँ अभिनेत्रीहरू हुन्छन् तर सिपोरालाई त्यो होडमा देखिएन । कारणबारे उनले भनिन्, ‘म आफ्नै मनोबलमा अगाडि बढ्न चाहने स्वभावकी छु । यो चलचित्रमा मैले निभाएको भूमिका पनि यस्तै छ ।’
भुइँमान्छेका बहुसंख्यक कलाकारहरू नाटकमा स्थापित छन् । जसमध्य सहिन प्रजापति पनि हुन् । आफ्नो ‘अपोजिट’ भूमिकामा रहेका सहिन प्रजापतिसँग काम गर्दा पनि रमाइलो लागेको यी अभिनेत्रीको कथन छ । आफू खेलबाट टाढा नभएको स्पष्ट पार्दै उनले बाँकी समय खेलमै दिने बताइन् । तर भुइँमान्छेजस्तै फरक स्वादका राम्रा चलचित्रबाट अफर आयो भने चलचित्र अभिनयलाई पनि निरन्तरता दिने उनले बताइन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij