२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

उद्यमशिलताकाे विकासमा युवाहरूलार्इ कसरी गर्ने परिचालन ?

उद्यमशिलताकाे विकासमा युवाहरूलार्इ कसरी गर्ने परिचालन ?

कुनै पनि देशको समृद्धिको निम्ति युवामाथि लगानी गर्नु जरुरी रहन्छ । क्षतमावान् जनशक्ति भनेकै युवाशक्ति अर्थात शारीरिक र मानसिक क्षमताको साथ काम गर्न सक्ने क्षमतावान् व्यक्तिहरु नै हुन् । यसैकारण युवाहरुमा लगानी गर्नु नितान्त आवश्यक रहन्छ ।
तर नेपालमा युवाहरु माथि राज्यले हेर्ने दृष्टिकोण त्यति प्रभावकारी हुन सकेको छैन । युवाहरुको हकहितको निम्ति नेपाल सरकार मातहत स्थापना भएका संस्थाहरु पनि देखावटी जस्ता मात्र भएका छन् । नेपालमा युवाहरुको क्षमता र उद्यमशिलता विकासको उद्धेश्यले स्थापित युवा स्वरोजगार कोषको लक्ष्य र विनियोजित बजेटको तुलनामा निकै कम मात्र काम गर्न सकेको अवस्था छ । नेपालमा राज्यको स्पष्ट युवा नीति छैन । राज्य र नीतिगत तवरबाट नै युवाहरुको अधिकारको निम्ति प्रयाप्त कामहरु हुन नसकेको कारण अहिले नेपालका ४० लाख भन्दा बढी नेपालीहरु रोजगारीको निम्ति विदेशिनुपरेको छ ।
नेपाल सरकारले युवाहरुको हकहित र क्षमता तथा उद्यमशिलताको विकासको निम्ति स्थापना भएको युवा स्वरोजगार कोषले उद्यमशिल सोच भएका युवाहरुलाई जुन तवरले लगानी गर्ने उद्धेश्य राखेको छ । त्यो आफैंमा निकै झण्झटिलो छ भने नेपालमा युवाहरुको निम्ति त्यसको प्रभावकारिता समेत निर्धारित लक्ष्य बमोजिम जान सकेको छैन । युवाहरु भनेका देशका सम्पत्ति हुन् । युवाहरुको दक्षता र क्षमता विकास हुन सकेको खण्डमा मात्र सही रुपमा राज्य सफल हुन सक्छ भन्ने कुरा राज्य सञ्चालकहरुले बुझ्न नसकेको कारण यो अवस्था आएको हो ।
प्रसङ्ग युवा र उद्यमशिलताकै हो । युवाहरुको निम्ति विना धितो कर्जा उपलब्ध गराउने उद्धेश्यले स्थापना भएको संस्था युवा स्वरोजगार कोषबाट लगानीको निम्ति कर्जा लिने प्रक्रिया पनि आफैंमा निकै कठिन छ । उक्त कर्जा लिन बर्र्षौं कुर्नुपर्ने, कर्जा रकम पनि थोरै रहेको र सबैलाई कर्जा उपलब्ध हुन सक्छ भन्ने अवस्था समेत नरहेको कारण उद्यमशिल व्यक्तिहरुले उक्त कर्जाको लागि प्रक्रिया अघी बढाउने क्रममा बर्षौं कुर्नुपर्ने अवस्था छ । यसबाट युवाहरु निराश मात्र हुने अवस्था रहेको भन्दै अब स्वरोजगारमूलक काम गर्न चाहने व्यक्तिहरुलाई लक्षित गरी धितो सहित तत्कालै कर्जा उपलब्ध गराउने (द्रुत कर्जा योजना) र प्रत्येक स्थानीय तहमा नमुना उद्योग स्थापना गर्ने निचोडमा स्वरोजगार कोष पुगेको छ । करिब १ करोड लगानीमा स्थापना हुने नमुना उद्योग सञ्चालन सँगै नेपालमा उद्यमशिलता र रोजगारी सृजनामा विशेष सहयोग पुग्ने साथै अन्य उद्योग स्थापनाको निम्ति युवाहरु जागरुक हुने युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विष्णु प्रसाद गौतमको विश्वास छ ।

अर्को कुरा युवा स्वरोजगार कोष कत्तिको पारदर्शि छ भन्ने कुरा पनि महत्वपूर्ण नै रहन्छ । कोषले शुरुका दिनमा लगानी गरेका व्यक्तिहरु अहिले कुन ठाउँमा कुन अवस्थामा छन् ? कोषबाट लिएको कर्जाको उपयोग गरेर कति व्यक्ति सफल भए ? भन्ने सम्बन्धमा अहिले सम्म कसैले कुनै तथ्याङ्क सङ्कलनको पहल गरेको छैन । उक्त लगानीबाट कति युवाहरु उद्यमी बने ? भन्ने सम्बन्धमा अहिले सम्म तथ्याङ्क सङ्कलनको पहल नै भएको छैन । हुनतः उक्त कोषबाट कर्जा लिएका अधिकांश व्यक्तिहरुले कर्जा बापतको रकम त तिरि नै सकेका छन् । तर जुन उद्धेश्यले बिना धितो कर्जाको अवधारणा ल्याइएको हो, त्यो सफल हुन सकेको छ कि छैन भन्ने कुरा नै सही अर्थमा प्रभावकारिता मापनको कडी हुन सक्छ ।

नेपालमा आफैं नै नेपालमा नै रहेर केही काम गर्नुपर्छ भन्ने मानसिकता बोकेका युवाहरु पनि नभएका होइनन् । तर यस्तो सोचले सच्चा सकारात्मक उद्धेश्य राखेर स्थापना भएका व्यक्तिहरुको निम्ति भने राज्यले कहीँकतैबाट सहयोग गर्न सकेको छैन । नेपाल सरकार मातहतका अधिकांश कार्यक्रमहरु पहुँचवालाहरुको नियन्त्रणमा छन् । नेपालमा विभिन्न देशबाट लगानी भित्र्याउने गैह्र सरकारी संस्थाहरुले गरेको लगानीको प्रतिफल पनि तुलनात्मक रुपमा निकै नै कम छ । ग्रामीण क्षेत्रका जनताहरुलाई नै देखाएर ल्याइने रकम कत्तिको सदुपयोग हुन सकेको छ ? ग्रामीण क्षेत्रमा उक्त रकम के काममा प्रयोग हुन सक्यो र त्यसबाट कुन वर्ग कसरी लाभान्वित हुन सक्यो ? भन्ने सम्बन्धमा पनि अब हामीले खोजीनिती गर्ने बेला आएको छ ।
राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रोे काम गर्नेलाई दण्ड सजायँ गर्ने प्रचलनमा पनि नेपाल चुकेको कारण नेपालीहरु बाध्यतावश विदेश भासिइरहेका छन् । ग्रामीण क्षेत्रमा भएका खेतबारीहरु अहिले बाँझो हुँदै गएका छन् भने नेपाल परनिर्भर बनिरहेको अहिलेको अवस्थामा नेपालमा भएका युवाहरुलाई कसरी नेपालमा नै सानो लगानीबाट सफल उद्यमी बन्न सकिन्छ भन्ने सम्बन्धमा पनि नेपाल सरकार मातहत नै त्यस्ता कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ । तर यस्ता कार्यक्रमहरु नेपाल सरकारको प्राथमिकताको विषय नै बन्न नसक्नु निकै दुःखदायी कुरा हो ।
वास्तवमा नेपालमा नै सानो लगानीबाट छोटो समयमा नै सफल उद्यमी बनेका थुप्रै व्यक्तिहरु छन् । ती व्यक्तिहरु कसरी सफल हुन सकेका हुन् ? भन्ने सम्बन्धमा पनि राज्यले नै अध्ययन गर्ने र सोही बमोजिम अन्य व्यक्तिहरुलाई पनि उद्यमशिलताको दिशामा लाग्नको निम्ति उत्प्रेरित गर्ने कार्यमा पनि नेपाल सरकार चुकेको छ । 

नेपालमा सानो लगानीबाट राम्रो प्रतिफल प्राप्त गर्न सकिने क्षेत्रहरु मध्ये घरेलु तथा साना उद्योग निकै राम्रो सम्भावना रहेको क्षेत्र हुन सक्छ । यस्ता कतिपय क्षेत्रहरुमा लगानी पश्चात् बजारीकरण समस्याको रुपमा रहेको पनि पाइन्छ । यस्तै अवस्थामा सम्बन्धित व्यक्तिले उत्पादन गरेका वस्तुहरुको बजारीकरणको ग्यारेन्टी गर्न सक्ने शशक्त संस्था वा कम्पनी स्थापना हुनुपर्ने आवश्यकता समेत देखिएको छ । उद्यमशिल सोच भएका व्यक्तिहरुलाई समेटेर सोही बमोजिम लगानी गर्न सक्ने वातावरण बनाउनुपर्ने आवश्यकतालाई महसुस गर्दै युवाहरुको संलग्नतामा एक अभियान अघी बढेको छ । ‘युवा सशक्तिकरण राष्ट्रिय अभियान’ नामक उक्त संस्थाले नेपालमा नै रहेर काम गर्न चाहने उद्यमशिल सोच भएका युवाहरुको क्षमता पहिचान गरी युवाहरुलाई सोही बमोजिमका सीपमूलक तालिमहरु सञ्चालन गर्ने, लगानीको निम्ति उपयुक्त अवसरहरु पहिचान गराउने, क्षमता र जनचेतना विकास गर्ने र युवाहरुले उत्पादन गरेका गुणस्तरीय सामानहरुको बजारीकरणको जिम्मेवारी आफैंले नै लिने लगायतका साथ सशक्त ढङ्गले अघी बढेको छ । नेपालमा यस्ता संस्थाहरुले युवाहरुलाई नेपालमा नै रहेर केही प्रभावकारी काम गर्नमा सहयोग पुग्ने आशा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij