२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

पाटनमा मतया दीप यात्रा, हेर्नुस ५ फोटोमा

पाटनमा मतया दीप यात्रा, हेर्नुस ५ फोटोमा

काठमाडौं । पाटनमा बुधबार दीप यात्रा मतया सुरु भएको छ । मतया बिहान साढे पाँच बजे नागबहालबाट सुरु भएको स्थानीय जुजुभाइ शाक्यले बताउनुभयो । हरेक वर्ष गाईजात्राको भोलिपल्ट मनाइने मतयामा पाटनका भित्री शहरमा रहेका विभिन्न देवदेवी, चैत्यको पूजा गर्ने गरिन्छ ।

विशेष गरेर बौद्ध धर्मालम्बीले वर्षभरिमा दिवंगत भएका आफ्ना आफन्तजनको सम्झनामा धान, चामल, पैसा लगायतका विभिन्न सामग्री दान दिँदै हातमा दीप लिएर मतया जाने गर्दछन् । यसरी हातमा पानस, मैनबत्ती, लगायत बालेर यात्रा गरिने भएकोले यस यात्रालाई मतया भनिएको हो । नागबहालबाट सुरु भएको मतया चकबहिल, टंगल, लगनखेल, हख बहाल, पूर्णचण्डी, बुबहाल, गाबहाल, नबहील, श्रीबहाल, नटोल, पुल्चोक नागबहालमा पुगेर सकिनेछ ।

यात्राको क्रममा पाटनमा रहेको पुल्चोक, लगनखेल, ग्वार्कोको चारवटा थुर घुम्नु पर्दछ । बुधबार दिनभरि नै पाटनमा विशेष चहलपहल हुन्छ । यात्रामा सरिक भएकाहरुलाई पानी, जुस, प्राथमिक उपचार सेवा दिनको लागि धेरै संख्यामा स्थानीय बासिन्दा जुट्ने भएकोले आज दिनभरि नै पाटनमा यातायात आवागमन प्रभावित हुनेछ ।

पाटनको मतया मंगलबजार, सौगल, नागबहाल लगायत १० वटा टोलले पालैपालो व्यवस्थापनको जिम्मा लिएर मतया संचालन गर्ने गर्दछ । यसपालीको मतया नागबहाल टोलले संचालन गरेको छ । मतयाको अर्को आकर्षण भनेको नौबाजा पनि हो । मतयाको रुटमा परम्परागत धाः, दम्वःखिं, न्येकू लगायतका नौवटा बाजा बजाएर जाने चलन छ ।

बाजा समूहले मंगलबजारको कात्तिक डबलीमा बुधबार विशेष कार्यक्रम गर्ने गर्दछ । मतयाको तयारी स्वरुप पालो परेको टोलले एक वर्ष अघि देखि नै आफ्नो टोलका युवा पुस्तालाई परम्परागत बाजाको प्रशिक्षण दिने गर्दछ । पाटनमा बाहेक मतया बुगमती, खोकना, थैव लगायतका ठाँउमा पनि संचालन गरिन्छ । मतया लिच्छवी राजा बालार्चनदेवको पालादेखि सुरु भएको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij