२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

युएफा सुपर कप: ७ मिनेट मात्र खेले रोनाल्डो

युएफा सुपर कप: ७ मिनेट मात्र खेले रोनाल्डो

काठमाडौं । म्यानचेस्टर युनाइटेडलाई २-१ गोल अन्तरले हराएर युएफा सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । खेलमा रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो खेल्ने नखेल्ने चर्चाकाबिच उनी ७ मिनेटका लागि मैदान प्रवेश गरे ।

रोनाल्डो रियल मड्रिडमा रहने नरहने भन्ने चर्चा चलिरहेका बेला उनी गएको हप्ता प्रशिक्षणमा फर्किएका थिए । रोनाल्डो आफूमाथि लागेको कर छलीको आरोपबाट निराश रहेको र यसले गर्दा उनी स्पेन छोडेर इंग्ल्याण्ड फर्किन चाहेको खबर पनि आइरहेका थिए ।

युनाइटेडविरुद्धको खेलको ८३ औँ मिनेटमा करिम बेन्जेमाको स्थानमा मैदान प्रवेश गरेका रोनाल्डो इन्जुरी समयबाहेक ७ मिनेट मात्र मैदानमा रहे । मैदान बाहिर रहेका बेला पनि उनी मौका मिल्नासाथ खेलाडीसँग कुरा गरिरहेका देखिन्थे ।
मंगलबार राति भएको खेलमा स्पेनिस क्लब रियल मड्रिडले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडविरुद्ध खेलको २४ औँ मिनेटमा नै अग्रता लिएको थियो । क्यासिमेरोले मड्रिडका लागि पहिलो गोल गरेका हुन् । रियल मड्रिडका लागि इस्कोले ५२ औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर पारे । युनाइटेडका लागि लुकाकुले ६२ औँ मिनेटमा गोल गरे । त्यसपछि दुवै टिमले पाएका अवसर सदुपयोग हुन सकेन ।

खेलमा ६३ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको मड्रिडले युनाइटेडमाथि दबाब राखेको थियो । युनाइटेडले आउँदो आइतबार वेस्ट हाम युनाइटेडसँग र मड्रिडले आउँदो आइतबार नै स्पेनिस सुपर कपमा बार्सिलोनासँग खेल्दै छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij