२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

काठमाडाैंमा दुर्घटनाबाट एककाे मृत्यु

काठमाडाैंमा दुर्घटनाबाट एककाे मृत्यु

काठमाडौं । कलंकी मन्दिर अगाडि भएको सडक दुर्घटनामा नुवाकोटका २२ वर्षीय अभिषेक घिमिरेको मृत्यु भएको छ । आज बिहान करिब ६ः४५ बजे बा ४ ख २७१३ नं को यात्रुवाहक बसले घिमिरेले चलाएको बा ६३ प ३५३४ नं को मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका घिमिरेको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

बस चालकलाई प्रहरीले पक्राउ गरी सवारीसाधन नियन्त्रणमा लिएको छ । त्यसैगरी, सिरहाको अर्नामा र कर्जन्हा गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा एक महिलासहित दुईजनाको मृत्यु भएको छ । अर्नामा गाउँपालिका–३ स्थित भित्री सडकमा गएराति मोटरसाइकलबाट लडेर स्थानीयवासी ६० वर्षीया सुर्जादेवी यादवको मृत्यु भएको हो । स ७ प ५७२४ नंको मोटरसाइकलबाट अचानक लडेर गम्भीर घाइते भएकी यादवको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी, पानी तान्ने मोटर पम्पबाट करेन्ट लागेर कर्जन्हा गाउँपालिका–६ निवासी ४५ वर्षीय बुधु साहको मृत्यु भएको छ । आफ्नै घरमा मोटरपम्पबाट पानी चढाउने क्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका साहलाई स्थानीयवासी फुलकुमारी मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा गएराति मृत्यु भएको प्रहरी चौकी, कर्जन्हाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij