काठमाडौं । ३ खेलको टेष्ट क्रिकेट श्रृङ्खला एक खेल खेल्नुअघि नै भारतले सिरिज कब्जा गरको छ । भारतले दोस्रो टेष्ट खेलमा घरेलु टोली श्रीलंकामाथि एकै इनिङ्मा ५३ रनको जितसहित शृंखलामा २–० ले लिड गर्दै सिरिज आफ्नो पक्षमा पारेको हो ।
कोलोम्बोस्थित सिन्हाली स्पोर्टस क्लबको खेल मैदानमा भएको दोस्रो टेष्टमा श्रीलंकाले पाहुना टोली भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न सकेन । पहिलो इनिङ्समा खराब ब्याटिङ गर्दै १८३ रनमा अलआउट भएको श्रीलंकाले दोस्रो इनिङ्समा पनि राम्रो ब्याटिङ गर्न सकेन ।
पहिलो इनिङ्सको ब्याटिङमा श्रीलंकाले निरोशान डिक्वेलाले ५१ रन बनाउनबाहेक कुनै पनि खेलाडीले उच्च रन बनाउन सकेनन् । श्रीलंकाका लागि एन्जेलो मेथेवसले २६, दिलरुवान परेरा र दिमुथ करुनारत्नेले समान २५–२५ रन बनाए । भारतका लागि रभिचन्द्रन अश्विनले ५ विकेट लिए । त्यस्तै, मोहम्मद शामी र रभिन्द्र जडेजाले समान २–२ विकेट लिए ।
१८३ रनमा अलआउट भएपछि त्यहिबाट पुनः दोस्रो इनिङ्सको ब्याटिङ थालेको श्रीलंकाले केही सम्हालिएर खेले पनि हार टार्न सकेन । दोस्रो इनिङ्समा भने श्रीलंकाका २ खेलाडीले शतक प्रहार गरे । दिमुथ करुनारत्नेले १४१ र कुशल मेन्दिसले ११० रन बनाएपनि टोलीलाई सम्हाल्न सकेनन् । त्यस्तै, एन्जेलो मेथेवसले ३६ र निरोशान डिक्वेलाले ३१ रन बनाए । भारतका लागि रविन्द्र जडेजाले ५ विकेट लिए । त्यसैगरी, अश्विन र हार्दिक पाण्डेले समान २–२ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको भारतले ९ विकेटको क्षतिमा ६२२ रन बनाएको थियो । भारतीय इनिङ्स उकास्दै चेतेश्वर पुजरा र अजिंक्या राहनेले शतक प्रहार गरेका थिए । पुजराले १३३ रन बनाए । उनले ११ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, राहनेले १३२ रन बनाए । त्यस्तै, भारतका लागि अन्य ब्याट्सम्यान रबिन्द्र जडेजाले नटआउट ७०, ऋद्धिमान शाहले ६७, रविचन्द्रन अश्विनले ५४ र लोकेश राहुलले ५७ रन बनाएपछि भारतले श्रीलंकासामु ठूलो योगफल तयार पारेको थियो । ३ खेलको टेष्ट क्रिकेट शृंखलामा भारतले २–० ले जितेको छ । अब अन्तिम टेष्ट खेल १२ अगष्टदेखि हुनेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij