२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

सुविधासम्पन्न बन्दै चन्द्रगढी विमानस्थल

सुविधासम्पन्न बन्दै चन्द्रगढी विमानस्थल

राजधानीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि नेपालबाहिरका नागरिकले सर्वाधिक प्रयोग गर्ने झापाको चन्द्रगढी विमानस्थलको मुहार फेरिन थालेको छ । केही वर्षअघिसम्म धावनमार्गमै दिसा र ढुंगा भेटिने विमानस्थल अहिले व्यवस्थित मात्र छैन, सुविधासम्पन्न पनि बनिसकेको छ ।

दैनिक ७ सय यात्रु झापा–काठमाडौं आवत–जावत गर्ने चन्द्रगढी विमानस्थल गत वर्षसम्म व्यवस्थित थिएन । तर, अहिले विमानस्थलको स्वरूप पूरै फेरिएको छ ।

अञ्चलकै एक मात्र विमानस्थल
पूर्वीनाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने भारत, भुटान, बंगलादेश, बर्मालगायत मुलुकका मानिस चन्द्रगढी विमानस्थल हुँदै काठमाडौंसम्म जान्छन् । पछिल्लो समय ताप्लेजुङको विमानस्थल वर्षाका कारण बन्द भएपछि यो मेची अञ्चलकै एक मात्र विमानस्थल बनेको छ । ‘वर्षा र जाडो मौसममा ताप्लेजुङको विमानस्थल बन्द हुन्छ,’ चन्द्रगढी विमानस्थलका प्रमुख पूर्णप्रसाद चुडालले भने, ‘ग्रास रनवे भएकाले वर्षामा हिलो भएर ताप्लेजुङमा जहाज आवत–जावत गर्न सक्दैन, अहिले मेची अञ्चलवासीले प्रयोग गर्ने एक मात्र विमानस्थल यही मात्र हो ।’

भारतको सिक्कम, दार्जिलिङलगायत स्थानमा बसोवास गर्ने केही नेपाली युवा काठमाडौंका स्कुल वा एनजिओमा जागिरे रहेको विमानस्थल कार्यालयका प्रमुख चुडाल बताउँछन् । ती युवा काठमाडौंबाट जहाज चढेरै झापा आउने र गाडीबाट भारत जाने गरेको उनले जानकारी दिए । ‘५ हजारभन्दा बढी नेपाली विद्यार्थी भारतका स्कुलमा पढ्छन्,’ उनले भने, ‘वर्षमा दुईपटक स्कुल बिदा हुन्छ, नेपाल छिरेपछि उनीहरूले काठमाडौं जान प्रयोग गर्ने विमानस्थल यही नै हो ।’

हाल राजधानीमा क्यासिनो बन्द गरिएको छ । पछिल्लो समय झापाको काँकडभिट्टा र भारतको सिक्किममा क्यासिनो व्यवसाय फस्टाउँदै छ । क्यासिनोमा रम्न चाहने राजधानीबाट जहाज चढेरै झापा आउने गरेका छन् । ‘झापाका नागरिकको क्रयशक्ति पनि बढेको रहेछ, अहिले धेरैले जहाजमै यात्रा गर्न थाले,’ विमानस्थल कर्यालयका प्रमुख चुडालले भने, ‘भद्रपुरमा मेची पुल बनिसकेपछि भारतका यात्रु थप बढ्नेछन् ।’

भद्रपुरको गहना
स्थानीय तहको चुनावपछि सदरमुकामका अधिकांश सरकारी कार्यालय अब स्थानीय तहमै जाँदै छन् । विमानस्थलले भद्रपुरको विकासमा सघाउ पु¥याउने भएकाले यसको संरक्षणमा सबै जुट्नुपर्ने भद्रपुरवासी बताउँछन् ।

गत वर्ष साउन २५ देखि चुडालले विमानस्थल प्रमुखको जिम्मेवारी सम्हालेयता चन्द्रगढी विमानस्थलको स्वरूप फेरिन थालेको हो । चुडाल झापा आउनासाथ झापा ट्राभल एसोसिएसनलगायत केही संघसंस्थासँग विमानस्थललाई कस्तो बनाउने भन्नेबारेमा सुझाब लिएका थिए । त्यसलगत्तै उनले विमानस्थलको रूप बदल्न सुरु गरेका हुन् । चन्द्रगढी विमानस्थलले जापानी संस्था जाइकासँग सम्झौतासमेत गरिसकेको छ ।

सम्झौताअनुसार चाँडै नै जहाजले डेढ किलोमिटर भिजिबिलिटिमै उडान तथा अवतरण गर्न सक्ने उपकरण ल्याइन लागेको चुडालले जानकारी दिए । हाल यस्तो उपकरण नहुँदा जहाजलाई ५ किलोमिटर भिजिबिलिटी आवश्यक पर्छ । पहिले जहाजले आवत–जावत गर्न काठमाडौंबाटै इन्धन बोकेर झापा आउनुपर्ने बाध्यता थियो । अहिले त्यो समस्या पूर्ण रूपमा हटेको छ । चन्द्रगढी विमानस्थलमै नेपाल आयल निगमका ट्यांकर बस्न थालेका छन् ।

अत्याधुनिक सुरक्षा व्यवस्था
हाल विमानस्थलको गेटभित्र प्रवेश गरिसकेपछि यात्रुलाई ५ ठाउँमा चेकजाँज गरिन्छ । विमानस्थलका प्रमुख चुडालले विमानस्थलका सम्पूर्ण गतिविधि भर्खरै जडित सिसी टिभीमार्फत नियालिरहेका हुन्छन् । भर्खरै विमानस्थलले उच्चस्तरीय एक्स–रे मेसिनसमेत खरिद गरेको छ । जनशक्तिलाई तालिम दिएर भदौ पहिलो सातादेखि एक्स–रे मेसिन सुचारु गरिने विमानस्थल कार्यालयका प्रमुख चुडालले जानकारी दिए । यसअघि यस्तो मेसिन नहुँदा चन्द्रगढी विमानस्थलबाट अवैध सुन तथा चाँदीसहित मानिस पक्राउ पर्ने गरेका थिए । ‘स्रोतसाधन नहुँदा पनि अवैध वस्तु फेला पारियो, अब एड्भान्स एक्स–रे मेसिन आइसक्यो,’ चुडालले भने ।

यात्रुका लागि शौचालय व्यवस्थित पारिएको छ । भिआइपी रुमलाई नयाँ बनाइएको छ । चेकिङ काउन्टर व्यवस्थित छ । नघुम्ने पंखा हटाएर नयाँ जोडिएका छन् । यात्रुलाई जहाजसम्म पुग्दा घाम र पानीले नभेट्ने गरी ‘ट्रस्ट’ निर्माण गरिएको छ ।

विमानस्थलको पानी निकासीका लागि ड्रेनसमेत निर्माण भएको छ । अहिले पनि यहाँ मर्मतसम्भारको काम भइरहेको छ ।यी सबै परिवर्तन विमानस्थलका लागि गत आर्थिक वर्षमा विनियोजित बजेटबाट गरिएको चुडालले जानकारी दिए । ५० बिघा क्षेत्रफलमा फैलिएको चन्द्रगढी विमानस्थलमा अब जहाज पार्किङस्लथ बढाउने तयारी भइरहेको छ । चन्द्रगढीबाट बुद्धले ३, यतिले २, सौर्य र नेपाल एयरलाइन्सले १–१ वटा उडान गरिरहेका छन् । ‘भुटानी शरणार्थीले यात्रा गर्दा फ्लाइट संख्या बढ्छ,’ चुडालले भने ।

enayapatrika.com

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij