
काठमाडौं । भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्र च्यातिएको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दाको फैसला आज हुँदैछ । मुद्दाको पक्ष र विपक्ष दुवैतर्फका वकिलहरूले बहस गरेर सकेका कारण आज फैसला आउन लागेको हो ।
गत बिहीबार बहस सकिएपछि न्यायाधीश ओमप्रकाश मिश्रले आइतबार फैसला आउने बताएका थिए ।
न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र ओमप्रकाश मिश्रको दुर्इ नम्बर इजलाशमा उक्त मुद्दा राखिएको छ ।
भरतपुरको मतगणना भइरहेका बेला मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको थियो । आयोगको निर्णयविरुद्ध गत जेठ २१ गते सर्वोच्चमा रिट दायर भएको थियो । महानगरका २९ मध्ये २७ वडाको गणना सम्पन्न भएको छ । निर्वाचन आयोगले १९ वडामा पुनः मतदान गर्ने निर्णय गरेपछि नेकपा एमाले सर्वोच्च अदालत गएको थियो ।
आज नै आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माको मुद्दाको पनि सुनुवाइ हुँदैछ । शर्माको मुद्दामा पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । कर फछ्र्योट आयोगमार्फत शर्माले अर्बौं रुपैयाँ छुट दिएर भ्रष्टाचार गरेको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मामाथि लगाएको छ । शर्माविरुद्ध विशेषमा मुद्दा दायर भएपनि सो मुद्दा अहिले यथास्थितिमै रहेको छ ।
शर्माकी पत्नीले आफ्ना पतिलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्चमा हालेकी छन् । सोही रिटमा सुनुवाइ भइरहेको हो । संयुक्त इजलासले उक्त मुद्दालाई पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो ।
शर्माको मुद्दा सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे र अनिलकुमार सिन्हाको इजलासमा सुनुवाइ हुँदैछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij