
काठमाडौं । आज (शुक्रबार) दुई स्टारका चलचित्रबीच भिडन्त हुने भएको छ । फ्राइडे रिलिज अन्तरगत शुक्रबार लिजिज भएका चलचित्र ‘प्रेम गीत–२’ र ‘रुद्र’ बीच कडा टक्कर हुन लागेको हो । पुराना एक्शन नायक निखिल उप्रेतीको ‘रुद्र’ र नयाँ पुस्ताका लोकप्रिय नायक प्रदीप खड्का अभिनित ‘प्रेम गीत–२’ एकै दिन रिलिज भएका हुन् ।
दुवै चलचित्रको ट्रेलर हेर्दा फिल्म लभ र एक्शनप्रदान देखिन्छन् । सिंगल थिएटरमा आफ्नो राम्रो प्रभुत्व जमाउँदै आएका निखिल र मल्टिप्लेक्समा दर्शकको राम्रो साथ बटुल्दै आएका प्रदीप बीच नै यो हप्ता भिडन्त हुने देखिन्छ ।
दुवैले आफ्नो चलचित्रलाई दर्शकको साथ रहने बताउँदै आएका छन् । “हामीले यो चलचित्रमा निकै मेहनत गरेका छौं । लभ र एक्शन दुबै भएकाले सबै खालका दर्शकको रोजाइमा ‘रुद्र’ पर्छ भन्ने अपेक्षा गरेका छौं,” नायक तथा निर्माता समेत रहेका निखिल उप्रेतीले भने । निखिल यो चलचित्रमा भिलेनका रुपमा दखिएका छन् ।
‘रुद्र’ मार्फत चलचित्रमा डेब्यू गरेका नव नायक विश्व शर्मा आफ्नो चलचित्र सिंगल थिएटरका लागि मात्रै नभएर मल्टिप्लेक्सका दर्शकका लागि पनि लक्षित गरेर निर्माण गरिएको बताउँछन् । “निखिल दाईलाई सिंगल थिएटरमा मात्रै रुचाइन्छ भन्ने गरिन्छ तर यो चलचित्रबाट त्यो अन्त्य हुँदैछ,” शर्माले भने, “हामीले कथा र निर्माणमा निकै मेहनत गरेका छौं । त्यो स्क्रिनमा हेरेपछि प्रमाणित हुनेमा म ढुक्क छु ।” ‘रुद्र’ ८२ वटा हलमा लाग्ने चलचित्र वितरक गोपाल कायस्थले जानकारी दिए ।
अघिल्लो सिक्वेलबाट वाहवाही कमाएका प्रदीप पनि आफ्नो चलचित्रले बक्स असफिसमा राम्रो व्यापार गर्नेका ढुक्क देखिन्छन् । “हाम्रो अघिल्लो चलचित्र प्रेम गीत जतिले मन पराउनु भयो त्यो भन्दा धेरै राम्रो चलचित्र बनाएको छौं यो पटक हामीले,” उनले भने, “चलचित्रको स्टोरी देखि सांगीतिक पक्षमा पनि हामीले उत्तिकै ध्यान दिएका छौं । आशा छ दशर्एकको साथ हामीले पाउने छौं । अघिल्लो सिक्वेल भन्दा माथिको कथा भएकाले नै यो चलचित्र निर्माण गर्दा दर्शकले मन पराउनुहुन्छ भनेर बनाएका हौं ।”
रामशरण पाठकले निर्देशन गरेको ‘प्रेम गीत–२’ मा प्रदीपको अपोजिटमा अस्लेषा ठकुरी छिन् । चलचित्र देशभरका ८० वटा हलमा एकै साथ प्रदर्शन हुँदैछ ।
यता, रामजी लामिछाने निर्देशित ‘रुद्र’ मा निखिल उप्रतीसँगै विश्व शर्मा र शाहारा श्रीपाइली मुख्य भूमिकामा छन् ।
नेपाली चलचित्र उद्योगमा वार्षिक करिब एक सय चलचित्र प्रदर्शन हुँदै आएका छन् । गत वर्ष ९० वटा चलचित्र रिलिज भएका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij