काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा भोलि अर्थात बुधबार प्रकाशित हुने भएको छ । भोलि विहान १० बजे नतिजा सार्वजनिक हुने ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले बताएका छन् । सरकारले यसअघि असार १६ गते नतिजा प्रकाशित गर्ने तालिका बनाएको थियो । तर केही परीक्षार्थीले जेठ २७ र २८ गतेको परीक्षामा जाँच दिन नपाएपछि फेरि एक हप्ता कम्प्युटर मार्फत परीक्षा लिएर भोलि नतिजा प्रकाशित गर्न लागिएको हो । ईपीएस कोरिया शाखा, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग र कोरिया सरकारको आधिकारिक वेबसाइटमा ईपीएसको नतिजा हेर्न सकिने छ ।
यो वर्ष झण्डै ६८ हजार भन्दा बढीले कोरियन भाषा परीक्षा दिएका छन् । परीक्षा आवेदन भने साढे ७५ हजारले भरेका थिए । त्यसमध्ये १० हजार २ सय जना परीक्षामा उत्तीर्ण हुने गरी कोटा तय भएको छ । उत्पादनमुलुकतर्फ ४ हजार र ६ हजार २ सय कृषिमा उत्तीर्ण हुने गरी कोटा तय गरिएको छ । यो वर्षको कोटा अघिल्लो वर्षको भन्दा झण्डै तीन गुणा बढी हो । गत वर्ष ३५ सय युवा कोरियन भाषा परीक्षामा उत्तीर्ण भएका थिए । कोरियाले यहाँ लिएका सबै परीक्षाका उत्तरपुस्तिका स्क्यानिङ मार्फत डिजिटलाज्ड गरेर कोरिया लैजाने गरेको छ । उसले मेसिनको प्रयोग गरेर ओ.सि.आर. प्रविधिबाट उत्तरपुस्तिका जाँच्ने गरेको छ । परीक्षामा उत्तीर्ण भएका सबै कोरिया जान पाउँछन् भन्ने ग्यारेन्टी भने नहुने ईपीएस शाखाले जनाएको छ । पास भएकालाई रोष्टर लिष्टमा राखेर लेबर कन्ट्रयाक्ट दिने गरिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij